Breaking

भारतमा नेपाली छात्रा मृत्यु प्रकरणले तात्यो संसद, सांसदहरुले झक्झक्याए सरकार


काठमाडौं—प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको सम्बन्धमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका छन् । रुपन्देहीकी लम्सालको ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो ।

उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुव्र्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ । सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाइका हुन् ।

आकस्मिक समयमा ९ सांसदले धारणा राखेकामा प्रभु साह र डा. तोसिमा कार्की बाहेकले लम्सालको मृत्युबारे कुरा उठाएका हुन् । सांसदहरु ठाकुर गैह्रे, मनिष झा, ध्रुवबहादुर प्रधान, माधव सापकोटा, छविलाल विश्वकर्माले लम्सालको मृत्युबारे कुरा उठाए । उनीहरूले क्याम्पसका प्रशासकहरूको नेपालीप्रति बोलिएको भाषा र व्यवहार आपत्तिजन्य भएको र नेपाल र नेपालीप्रति गरिनुपर्ने न्यूनतम व्यवहार पनि नदेखाएका बताए ।

सांसद माधव सापकोटाले लम्सालको मृत्युसम्बन्धी घटनाको न्यायोचित छानबिनको माग गरे । उनले यसबारे आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको समेत बताए । साथै उनले सरकारलाई उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरे ।