काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माण लगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सोको निर्माण सुरुवात गरेको स्मरण गराउँदै आफूपछिका सरकारहरूले ती कार्यक्रमहरू रद्द गरेपछि निर्माण रोकिएको बताए । अस्पतालको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनका लागि उपलब्ध स्रोत र साधनको प्राथमिकताकासाथ विनियोजन गरिरहेको र आगामी वर्ष पनि प्राथमिकतापूर्वक विनियोजन गरिने उनको भनाइ छ ।
यस्तै प्रधानमन्त्री ओलीले सरकारले खासगरी सडक पूर्वाधार विकासलाई महत्त्व दिई सोही अनुरूप बजेट विनियोजन गर्ने र सिद्धबाबा सुरुङमार्गको निर्माणलाई गति दिइने बताए । त्यसैगरी, नागढुङ्गा सुरुङमार्गमा हालसम्म ८५ प्रतिशत प्रगतिसहित अत्यावश्यक पन लाइटिङ र भेन्टिलेसनहरूको काम भइरहेकोले निर्माण सम्पन्न हुने चरणमा प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा हालसम्म रु तीन अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको तथा रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको जानकारी सदनलाई गराए ।


प्रतिक्रिया