राजनीति

२२ वर्र्षीय नेपाली ठग,३ देशमै सेटिङ,३ करोडको घर


पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसंगै विभिन्न आपराधिक घटना तथा विकृतिहरुसमेत मौलाउन थालेका छन् । संगठित रुपमा क्रिप्टो करेन्सी, अनलाइन स्क्याम र हुण्डी कारोबार लगायत ठगीका घटनाहरुले समाजलाई नै आक्रान्त पारेको छ । त्यसमा पनि छिटो पैसा कमाउने महत्वकान्छाले युवा पुस्ता प्रहरीको फन्दामा पर्ने गरेका छन् ।

घरमै बसीबसी मासिक लाखौँ कमाउन सकिने भन्दै सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, इमो, भाइबरमा विभिन्न सूचना र सन्देश आएका छन् भने होसियार ! हुनुहोस् । नत्र भने ह्याकरको पन्जामा परेर तपाईं ठगिन सक्नु हुनेछ । तपाईंले दुःख गरेर कमाएको सम्पत्तिसमेत थाहै नपाई स्वाहा हुन सक्छ । हो, पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले विभिन्न अपराधका साथै ठगीका घटनाहरु बढ्दै गएका छन् । सूचना प्रविधिको विकाससँगै मानिसहरुको हात हातमा मोबाइल फोन सेट उपलब्ध हुँदा साइबर अपराध र ठगीका घटनामा वृद्धि भइरहेको छ ।

गत शुक्रबार यस्तै एउटा अपत्यारिलो घटना बाहिरियो । उमेरले भर्खरै २२ वर्ष टेकेका कैलाली, बर्दगोरिया गाँउपालिका – ६ स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ गैरीगाँउ बस्ने माइकल डंगौरासहितको समूहले अनलाइनमार्फत करोडौं रकम ठगीगरेको खुलेको छ । यसक्रममा प्रहरी नै चकित बन्यो जति बेला ठगी धन्दाबाट उनले जोडेको सम्पत्तिबारे खुल्यो । काठमाडौंमा आलिसान घरका साथै महंगो गाडी चढेर हिँड्ने गरेको भेटियो । २२ वर्षकै उमेरमा करोडौं सम्पत्ति । सुन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ, तर सत्य यही हो । त्यो पनि डेढ वर्षको अवधिमा बुढानीलकण्ठमा ३ करोडको घर र बैंकमा ४ करोड रुपैयाँ मौज्जाद रहेको प्रहरी अनुसन्धानमा भेटिएको छ ।

आईटी इन्जिनियरिङमा स्नातक तहमा अध्ययनरत डंगौरालाई छोटो समयमा करोडपति बन्ने महत्वकांक्षाले प्रहरी हिरासत पु¥याएको छ । प्रहरीले डंगौरासहित ७ जनालाई संगठित अपराध गरेर सयौं मानिसलाई ठगेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली मात्रै नभएर भारतीय नागरिकसमेत रहेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरियाका २६ वर्षीय अनिल विश्वकर्मा, बुढानीलकण्ठ बस्ने २९ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय आश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी, काठमाडौं बस्ने भारत बिहारका २७ वर्षका रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार छन् । यो ठगी कार्यमा आश्विन चौलागाईंका सहोदर दाजु आशिष चौलागाईंले अमेरिकामा बसेर पनि साथ दिएको खुलेको छ ।

साथै एक जना बंगलादेशी नागरिक पनि संलग्न रहेको भेटिएको प्रहरीले जनाएको छ । संगठित रुपमा क्रिप्टो करेन्सी, अनलाइन स्क्याम र हुण्डी कारोबारमा संलग्न यी युवाहरु हाल सीआईबीको हिरासतमा छन् ।विभिन्न बैंक तथा डिजिटल वालेटका प्रयोगकर्ताहरुलाई झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भनी उनीहरुको ओटीपी (वान टाइम पासवर्ड), पिन नम्बर मागेर अनधिकृत रुपमा प्रयोगकर्ताको खातामा पहुँच पु¥याई रकम ठगी गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ ।

यो समूहले अनलाइन जब, घरमै बसेर धेरै रकमहरु कमाउन सकिने, अनलाइन ग्याम्बलिङ गर्ने, आकर्षक विज्ञापनहरु विभिन्न लिंकहरूबाट पठाई साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पु¥याउने र रकम अन्यत्र खातामा पठाउने गरेका थिए ।

उनीहरुले आफ्नो सञ्जाल विस्तार गर्न सामाजिक सञ्जालमा विभिन्न प्रलोभन सहितकालिंक पठाउने र त्यसलाई क्लिक गर्न लगाउने गरेका थिए ।क्लिक गरेपछि उनीहरुको डिजिटल वालेटसम्म पहुँच पु¥याएर ओटीपी माग्ने र त्यसलाई ह्याक गरी बैंक तथा डिजिटल वालेटबाट पैसा ठग्ने गरेको देखिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा अनलाइनको विदेशी ठगी गिरोहको सदस्य बनेर सुरुमा माइकलले ठगी धन्दा चलाएको खुलेको छ । त्यसपछि उनी आफैँ नाइके बनेर अन्य व्यक्तिहरुलाई परिचालन गरेर ठगी धन्दा चलाएको भेटिएको छ । प्रहरीले यसअघि अनलाइन ठगीका नेपाली एजेन्ट मात्रै पक्राउ गरेकोमा माइकल भने आफैँ अनलाइन ठगी गिरोहको नाइके बनेर काम गर्न थालेको पाइएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनलाइन ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ । पछिल्लो समय मोबाइल फोनको प्रयोग बढेसँगै अपराधका शैली र घटनाहरु पनि वृद्धि भएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रविधिको विकासले ठगी धन्दाको प्रकृतिसमेत बदलिँदै गएकाले स्वयम् नागरिक सचेत हुनु पर्ने प्रहरीको सुझाव छ ।

प्रविधिको विकाससंगै विभिन्न समस्या र चुनौतीहरु पनि देखा पर्दै गएका छन् । यसको नियमनमा सम्बन्धित निकाय गम्भीर बन्नु पर्ने आवश्यकता छ भने सर्वसाधारण नागरिकसमेत सचेत हुन जरुरी रहेको सरोकारवाला पक्षको सुझाव छ । ठगीका लागि पछिल्लो क्रममा विभिन्न गिरोहहरुले फरकफरक शैली अपनाइरहेकाले प्रलोभनमा नपर्न प्रहरीले आग्रह समेत गरेको छ ।