काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसदीय समितिबाट आएका प्रतिवेदनमाथि सरकारले पुनः संशोधन राख्न पाउने नजिर स्थापित भएको भन्दै आपत्ति जनाएकी छिन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा समय लिएर बोल्दै सांसद गौतमले कानुन समितिले पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव हालेर जनताको आँखामा छारो हाल्ने काम भएको जिकिर गरिन् ।
कानुनमन्त्री अजयकुमार चौरसियाले आइतबार उक्त विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए । प्रतिवेदन कानुन, न्याय तथा संसदीय समितिबाट पारित भइसकेको छ । प्रतिवेदन पारित भएपछि उक्त विधेयकमा कानुन समिति सदस्य समेत रहेकी कांग्रेस सांसद सुशिला थिङले संशोधन प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्तावमा जवाफ दिँदै कानुनमन्त्री चौरसियाले संशोधन प्रस्ताव स्वीकार गर्ने जवाफ पदिएका थिए । यो घटनाले संसदीय इतिहासमा एउटा गलत नजिर स्थापित भएको उनले बताइन् ।


प्रतिक्रिया