एमाले र कांग्रेसले समान हैसियतमा सत्ता सयर गरिरहेका छन् । तर, विपक्षी दलको सदाशयता भने अधिक कांग्रेस र सभापति शेरबहादुर देउवातिर छ । अध्यादेश पारित गराउन संख्याको गाँठो पर्दा निर्णायक भनिएको दलले नै कांग्रेससँग सरकार परिवर्तनको प्रस्ताव गर्न थालेको छ ।
सत्ताको सयर गरिरहेका यी दुई अनुहार । एकापट्टी प्रधानमन्त्री केपी शर्मा ओली । अर्कोपट्टी प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । इमान्दार बनेर आठौँ आश्चर्य देखिए अबको करिब डेढ वर्षपछि यी दुबै नेताको हैसियत फेरिनेछ र प्रधानमन्त्री बन्नेछन् देउवा अनि प्रमुख सत्ता साझेदार एमाले र ओली ।
तर, अहिलेसम्म यी दुबै नेताहरुप्रति अरु दलका नेताले गर्ने व्यवहार विल्कुल फरक छन् । मन्त्रिपरिषद्को प्रमुख भएका कारण आलोचना ओलीले खेप्नु स्वभाविक भए पनि सत्ताको भरपुर उपयोग कांग्रेसले गरिरहेको छ । यस्तो अवस्थामासमेत देउवाले सबैको विश्वास जित्दा ओलीले भने भएको पनि गुमाउँदैछन् । २४ गतेको प्रतिनिधिसभा बैठकमा एक घण्टा छ मिनेट बोल्दा प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवाप्रति नरम देखिँदा ओलीप्रति भने सकेजति आक्रोश ओकले ।
माओवादीबाहेक अरु विपक्षी दलसमेत देउवाकै पक्षमा छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देउवालाई पटक–पटक प्रधानमन्त्री बनिदिन आग्रह गरेका विषय सार्वजनिक भएका थिए । एक कार्यक्रममा त उनै माधवले ओलीलाई दुनियाँकै ठग भन्न भ्याएका थिए ।
यता विपक्षमै रहेका उपेन्द्र यादवले ओलीलाई अझै विश्वास गर्न सकिरहेका छैनन् । ओलीकै डिजाइनमा पार्टी फुटाएको तुष सहजै नमेटिने संकेत उनले देखाएका छन् । अध्यादेश पारित गर्ने विषयमा माघ २४ गते बिहान ओली र देउवासँग उपेन्द्रले छुट्टाछुट्टै भेट गरेका थिए । देउवासँगको भेटमा उपेन्द्रले अध्यादेशको झन्झट छाडेर नयाँ सरकार चलाउन अफर गरेका छन् । तर देउवाले भने तत्काल अध्यादेशमा समर्थन गर्न भनेर पठाएको स्रोत बताउँछ । राष्ट्रिय प्रताजन्त्र पार्टीसमेत हिजोसंगै चुनाव लडेको एमाले र अध्यक्ष ओलीप्रति आक्रामक बन्दा कांग्रेसप्रति त्यति नकारात्मक छैन । पृथ्वीजयन्तीको अघिल्लो दिन माओवादी र एकीकृत समाजवादी लगायत दलहरुको बैठकमै पुगेका राजेन्द्र लिङदेनले विपक्षी मोर्चाको समर्थन गर्दै ओलीको आलोचना गरेका थिए । हिजो ओलीको साथमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत ओलीसँग नमज्जाले बिच्किएको छ ।
रास्वपा सुरुदेखि नै कांग्रेसप्रति नभइ महामन्त्री गगन थापाप्रति नकारात्मक छ । अहिले सहकारी मुद्दा गगन र कांग्रेसकै कारण उचालिए पनि रवि लामिछानेले भने ओलीप्रति नै आगो ओकल्दै ओली नै देशको समस्या रहेको बताएका थिए । त्यसयता एमालेप्रति रास्वपा सकारात्मक छैन । देउवाको विश्वास जितेर पनि मुखै फोरेर खुल्न भने बाँकी छ । अर्थात देउवाको पक्षमा रहेका सबै दल र नेता ओलीको विपक्षमा देखिन्छन् । यहाँ को कसको पक्षमा भन्ने कुुराले खासै अर्थ नराखे पनि कतै यिनै कारण र दबाबले कांग्रेस–एमालेबीच दूरी त ल्याउँदैन ? भन्ने प्रश्न जन्मिएको छ ।
ओली प्रधानमन्त्री बनेपछि नै देउवाले दल फुटाउने अध्यादेश रोक्ने लगायत सहयोग गरेकाले उनीहरुको सदाशयता स्वभाविक रहन सक्छ । तर, हरेक दलले सरकार बनाउन ढोकामै आउँदा ओलीले धोका दिइहालेको अवस्थामा विकल्प तयार पारेको समेत हुनसक्ने चर्चा हुन थालेको छ । अर्कोतर्फ माओवादीले समेत ओलीले अध्यादेश पारित गर्न आफ्नो सहयोग खोजेको अर्थमा देउवालाई घुक्र्याइरहेको छ । यदि देउवा सिरियस भए तत्काल अध्यादेश पारित गराइदिन जुनसुकै दललाई समेत आग्रह गर्न सक्छन् । तर, त्यसो नगर्नु आफैँमा संशयपूर्ण हुन्छ । यसले कतै अध्यादेशकै कारण देउवाले भनेजस्तो ह्यारेसमेन्ट हुने जोखिम बढाइदिएको छ ।


प्रतिक्रिया