राजनीति

माधवको फुर्ती सकियो, देउवाले पत्याएनन्


कहिले पार्टी फुट्ने चिन्ता, कहिले नेता थाम्नै मुस्किल । सबै ठिकठाक भए पनि आन्तरिक कलह कहिल्यै नछुट्ने । कुनै समय नयाँ पार्टी खोलेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दाबी रहन्थ्यो– ‘हामी यो देशको निर्णायक शक्ति हौँ ।’ तर, अहिले पार्टीमा टालाटुलीसमेत गर्न नसक्ने अवस्थामा किन पुग्दैछन् माधव ?

एमाले फुटाएर नयाँ पार्टीको अध्यक्ष बन्न पाउँदा माधव नेपालको उत्साह छुट्टै थियो । लगत्तै आम निर्वाचन भयो । कांग्रेस र माओवादीसहितको गठबन्धनमा भएकाले राष्ट्रिय पार्टी बन्ने आत्मविश्वास स्वभाविक रुपमा हुने नै भयो ।

तर, जब नतिजो त्यो देखाएन । र एकीकृत समाजवादी राष्ट्रिय पार्टी बनेन त्यसपछि केही मधुर देखिए माधव नेपाल । तर, फेरि पहिलो र दोस्रो दललाई पछि पार्दै सत्ताको नेतृत्व गर्न माओवादी आएपछि फेरि हौसिए माधव । अनि भन्न थाले,‘राष्ट्रिय राजनीति मेरै वरिपरी घुमिरहेको छ ।’ त्यसअघि पनि उनले भन्थे– ‘अवमूल्यन नगर्नुस् हामी निर्णायक शक्ति हौँ।’

तर, त्यो राप अहिले न माधवमा छ न पार्टीमा नै । पार्टी र सत्ताबाट चौतर्फी दबाबमा परेका माधव अब थचक्क थच्किएका छन् । न पार्टी संगठन सक्रिय बनाउनसक्ने जाँगर छ कांग्रेस–एमाले मिलेपछि न सत्ताको च्याँखे थाप्ने बाटो । एमाले र उसका नेताले माधवलाई प्रधान शत्रु ठानछन् । सुरुमा केपी शर्मा ओली माधवप्रति आक्रामक देखिन्थे ।

तर, अहिले माधवबारे ओलीले धेरै बोल्नै पर्दैन । किनकी दोस्रो तहका नेता नै अहिले ओलीलाई मात खुवाउने गरी माधवकै आलोचना गर्छन यतिसम्म कि एमालेका १० भाइ गुटका नेता र एकीकृत समाजवादीमै सक्रिय नेता समेत माधवको पक्षमा छैनन् । त्यसको एक झलक हो, शुक्रबार संसदमा एमाले सचिव योगेश भट्टराईको काउन्टर । पार्टी फुटाउन अध्यादेश ल्याउन लागिएको हल्लाका बीच अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्ने ? भन्दै माधवतिरै तीर सोझ्याए ।


पहिलो महाधिवेशनले पार्टी फुटको औचित्य नसकिएको भन्दै नेपाललाई नै अध्यक्षमा दोहो¥यायो । उनलाई काउन्टर दिने भनेका घनश्याम भुषाल महासचिवमै रोकिए । अनि रामकुमारी झाँक्री लगायत नेता असन्तुष्ट बने । कार्यविभाजन लगायत प्रक्रियामा झनलाथ समेत सन्तुष्ट नहुँदा पार्टी नै एकमत छैन । बरु केही दिनअघि मात्र झाँक्रीले अध्यादेश ल्याउने विषयमा सरकारकै समर्थन जनाइन् । उता बामदेब गौतमले पनि एकीकृत समाजवादी मनैबाट रोज्न हिच्किचाए । हिजो माधव पक्षमै रहेका एमालेका १० भाइमध्येका एक भीम रावलले समेत माधवलाई पत्याएनन् । अर्कोतर्फ माओवादी र कांग्रेसकै पछि लागेर माधवले पार्टी फुटाउने आँट गर्दा उनीहरुले समेत माधवलाई टेर्दैनन् ।

एकातर्फ ओलीले नै एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गरिरहेका छन् भने अर्को तर्फबाट माओवादी पनि कालान्तरमा पार्टी एकताकै आश्वासन दिएर माधवका नेता कार्यकर्ता पार्टीमा भित्र्याइरहेका छन् । समाजवादी मोर्चामार्फत माओवादीसँग एकताको प्रयास भए पछि ठूलो पंक्ति माओवादीभन्दा एमालेकै जाने लाइनमा छ । एमालेले माधव बाहेक सबैलाई पार्टीमा फर्कन चाहनेलार्य रेड कार्पेट बिछ्याइरहेको छ ।

माधव माओवादीमै गए पनि जनार्दन शर्मा पक्ष सहमत छैन । माधवले चुनाव हारेपछि गिरिजाप्रसाद कोइरालाले सांसद मनोनित गर्दै उनलाई प्रधानमन्त्रीसम्म बनाए । माधवले कांग्रेस–एमालेको सरकार ढाल्न समेत यो बीचमा धेरै दौडधूप गरे । कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक पटक माओवादी र एकीकृत समाजवादी सहितको पुरानै गठबन्धन सरकार ब्यूँत्याउन प्रयास भए पनि सफल भएन । बरु पार्टी फुटाउने अध्यादेश रोक्न भने रोकियो । अहिले फेरि घुमाउरो शैलीमा फेरि अध्योदेश ल्याउने चर्चापछि माधवलाई तनाव थपेको छ ।

आगामी कार्यकाल फेरि अध्यक्ष बन्न ओलीले एकीकृत समाजवादीका केही नेता भित्र्याएर चलाखी शैलीमा उमेर हद हटाए । तर, माधवलाई भने एमालेमा फर्किने बाटो ओली अध्यक्ष रहेसम्म पूर्णरुपमा बन्देज छ । वैकल्पिक अभियानले ठूला दलहरुलाई नै चुनौती थप्दा माधव थप संकटमा परेका छन् । रणनीतिक कदम नचालेसम्म मिल्ने नभई एकातर्फ एमाले र अर्को तर्फबाट माओवादीले एकीकृत समाजवादी निल्ने रुपरेखा देखिएको छ ।