काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने प्रकारको शृङ्खला अन्त्य भएको बताएका छन्। राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए। देशको रक्षा, विकास र सुशासनका लागि आफू नेतृत्वको सरकार अगुवाइ गर्न तत्पर रहेको बताउँदै सहिदले देखाएको मार्गमा सँधै अविचलित रहने उनको भनाइ छ।
उनले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताए। सहिदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे।


प्रतिक्रिया