राजनीति

रविमाथि सूर्यको फेरि काउन्टर, नाजवाफ बने गृहमन्त्री

योहो संवाददाता

सहकारी रकम अपचलनको आरोपमा गत कात्तिक दुई गते काठमाडौंबाट पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको आज आठौं पटक म्याद थप गरिएको छ । लामिछानेसहित ५० जनाविरुद्ध प्रहरीले सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कार्वाहीको सिफारिस गर्दै सोमबार सरकारी वकिल कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।


विगत ६१ दिनदेखि सहकारी रकम अपचलन आरोपमा प्रहरी हिरासतमारहेकारास्वपा सभापति रवि लामिछानेमाथिमंगलबार फेरि आठौं पटक अनुसन्धानका लागि भन्दै चार दिनको म्याद थप गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछाने संलग्न रहेको सहकारीको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाए पनि मंगलबार भनेजिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले ४ दिन हिरासदमै राख्नअनुमति दिएको हो । सूर्य दर्शन लगायतका सहकारीको रकम अपचलनका मुख्य नाइके जीबी राईलाई सरकारले पक्राउ गरी नेपाल ल्याउन कुनै पनि सक्रियता देखाएको देखिँदैन ।

तर नेपालमै रहेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई भने म्याद थप गर्दै हिरासतमै राख्ने रणनीतिमा सरकार रहेको देखिन्छ । सभापति लामिछाने पक्राउको दिनदेखि निरन्तर सडक संघर्षमा रहेका रास्वपाका नेता कार्यकताले सरकारले प्रतिशोध पूर्ण व्यवहार देखाएको आरोप लगाउँदै आएका छन् । यद्यपि न्यायलयले गरेको फैसला आफूहरुले मान्ने उनीहरुले बताउँदै आएका छन् ।

लामिछानेसहित ५० जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिल कार्यालयलाई रायसहित प्रतिवेदन बुझाएको छ । तर, जीबी राईको हकमा भने थप कसुरमा समेत अभियोजन गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्षछ । जीबी राईले अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको हुनाले उनलाई राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय प्रहरी प्रतिवेदनमा उल्लेख छ । जीबीले क्रिप्टोमार्फत विदेशमा रकम लगेको प्रमाण प्रहरीले भेट्टाएको जनाएको छ ।

लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । सो रकम बिगो कायम गर्न मागदाबी लिनुपर्ने राय प्रहरीले सरकारी वकिल कार्यालयलाई दिएको छ ।सहकारी रकम अपचलनमा छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिका सभापति एवं एमाले सांसद सूर्य थापाले सहकारी रकम अपचलनमा जो कोही भए पनि नछोड्ने उद्घोष गरेका छन् । हालका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको एक समयका प्रेस सल्लाहकार रहेका थापा ओलीको प्रिय पात्र मानिन्छन् । उनै थापाप्रति कटाक्ष गर्दै लामिछानेले केही दिन पहिले पहिल्लै तयार स्क्रिप्टमा हालको सहकारी अनुसन्धान अगाडि बढेको टिप्पणी गरेका थिए । त्यसैको प्रतिकारमा हाल एमाले सांसद थापा उत्रिएको देखिन्छन् ।

सूर्यदर्शन सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछानेका साथै पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईसहित ५ जना अहिले थुनामा छन् । थुनामा रहेकाहरुमा तनहुँका रामबहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ पनि छन् । यसअघिको मुद्दामा प्रतिवादी बनेकाहरूलाई पनि प्रहरीले दोस्रो पटक प्रतिवादी कायम गरेको छ ।

उनीहरुविरुद्ध पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नेतयारी रहेको जनाइएको छ ।देश बाहिर रहेका सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई जीबीको राहदानी रद्द गरे पनि हाल उनी कुन देशमा, के गर्दै छन् ? भन्ने मै सरकार बेखबर देखिन्छ । अघिल्लो सरकार हुँदा जीबीलाई लुकाएको भन्दै संसदमा आरोप लगाएका वर्तमान सत्ताघटक दलहरु भने मुख लुकाउँदै हिँडिरहेका छन् । झण्डै दुई तिहाइको बलियो सरकारले सहकारी प्रकरणमा फरार रहेका मुख्य नाइके जीबी राईलाई पक्राउ गर्न नसकेको हो वा नचाहेको हो ?भन्नेमै शंका उब्जेको छ ।