दुर्घटना

चितवन प्रशासन विवरण : सिमलताल पहिरोमा बेपत्ता यात्रु संख्या ६२, हालसम्म ५ शव फेला


नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमा जम्मा यात्रु संख्या ६५ जना रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ ।

जसमध्ये तीन यात्री मात्र सकुशल रहेको प्रशासनले जनाएको छ । त्रिशूलीमा हराइरहेको काठमाडौंदेखि गौर जाँदै गरेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा उक्त बसमा थप ११ यात्रु रहेको खुलेको छ ।

३८ जना यात्रु रहेको उक्त बसका तीन जना यात्रु सकुशल छन् । त्यसै वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल बसमा चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा चार जना गरी कुल २७ जनाले यात्रा गरेको प्रशासनले जनाएको छ ।

दुवै बसमा ६५ जनाले यात्रा गरे पनि गणपति बसका तीन जना यात्रु सकुशल रहेका छन् । हराईरहेका मध्ये हालसम्म ५ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।