Breaking

चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू

योहो संवाददाता

काठमाडौं– आसन्न चाडपर्वका समयमा यात्रुहरू विचौलियाबाट ठगिने समस्या अन्त्य गर्न र जीर्ण सडक तथा कमजोर ट्राफिक पूर्वाधारका कारण भइरहेका दैनिक दुर्घटना रोक्न सांसदहरूले सरकार तथा मातहतका निकायको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमवार बसेको बैठकमा सत्तारूढ तथा प्रतिपक्षी सांसदहरूले चाडपर्व लक्षित अल्पकालीन योजनामा मात्र सिमित नभई मुलुकको समग्र यातायात क्षेत्रको दिगो व्यवस्थापन गर्न माग गरेका हुन् ।

बैठकमा बोल्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मञ्जु भुसालले चाडपर्व नजिकिँदै गर्दा यातायात क्षेत्रमा विचौलियाहरूको प्रभाव बढ्ने र यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरिन् । उनले टिकट काट्नु मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउनु मुख्य दायित्व भएको स्मरण गराइन् । सांसद भुसालले संसदीय समितिले सातवटै प्रदेशमा यातायात तथा पूर्वाधार अनुगमनका लागि उपसमिति बनाएर काम गरिरहेको जानकारी पनि दिइन ।

रास्वपाकै सांसद सुनिल केसीले राजधानीकै मुख्य सडकहरूमा सामान्य ट्राफिक पूर्वाधार नहुँदा नागरिकले ज्यान गुमाइरहनु परेको भन्दै आक्रोश पाखे । कोटेश्वर चोकमा निर्माण हुने भनिएको आकासे पुल कसको स्वार्थमा रोकियो भन्दै उनले सम्बन्धित मन्त्रालय र विभागसँग जवाफ माग गरे । उनले सडक विभाग र ट्राफिक प्रहरीका अधिकारीहरूलाई प्रश्न गरे । साथै, अव्यवस्थित पार्किङ र सडक सुरक्षामा राज्यका निकायहरूले आफ्नो कमजोरी स्वीकारेर तत्काल समाधान दिनुपर्ने उनको माग छ ।