Breaking

ग्यास हाहाकारका चार कारण, नयाँ मन्त्रीको नयाँ खाका, उपभोक्तादेखि व्यापारीसम्मलाई नयाँ नियम (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पछिल्ला केही महिनायता नेपालमा खाना पकाउने एलपी ग्यासको चरम अभावका कारण जनजीवन नै अस्तव्यस्त बनिरहेको छ । नागरिकहरू खाली सिलिन्डर बोकेर सडकमा भौँतारिन बाध्य छन् । एक सिलिन्डर ग्यासकै लागि हप्तौंसम्म लाइनमा बस्नुपर्ने बाध्यताले सरकारप्रति नागरिकको आक्रोश चुलिँदै गएको छ । बजारमा मच्चिएको हाहाकार र जनमानसमा बढेको आक्रोशका कारण विभागीय मन्त्रीदेखि प्रधानमन्त्रीसम्म दबाबमा परे । यही दबाब, चौतर्फी आलोचना र आक्रोशको सामना गर्न नसकेर तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा समेत दिइन् । लगत्तै दीपककुमार साहले सोही मन्त्रालयको कमान्ड सम्हालेका छन् । तर, साहले मन्त्रालयको कमान्ड सम्हाल्नेबित्तिकै सबैको घरघरमा सिलिन्डर पुगिहाल्छ भन्ने कुनै ठोस आधार अझै देखिएको छैन । यदि त्यसो हुन्थ्यो भने मन्त्री फेरिएको चार दिनमै अवस्था केही सहज हुनुपथ्र्यो, तर बजारमा ग्यासको अभाव उस्तै छ । महिनौंदेखि जनताले भोग्दै आएको सास्ती केवल विभागीय मन्त्री फेरिँदैमा समाधान हुने अवस्था देखिँदैन । किनकि, यो ग्यास संकट कुनै एउटा मन्त्री वा सरकारको क्षणिक कार्यसम्पादनका कारण मात्र आएको होइन; यो त वर्षौंदेखिको संरचनात्मक त्रुटि, नीतिगत असफलता, व्यापारिक सिन्डिकेट र पूर्वाधारको चरम अभावका कारण सिर्जित बहुआयामिक समस्या हो । यद्यपि, नवनियुक्त मन्त्री साहले जनतालाई आवश्यक परिमाणमा ग्यास उपलब्ध गराउन तत्काल कदम चाल्ने औपचारिक प्रतिबद्धता भने व्यक्त गरेका छन् ।