Breaking

चिलिमे सुरुङ उद्धार : अर्को चमत्कारको प्रतिक्षा, दिनरात हुँदैछ काम, १२० मिटरभित्र जे देखियो…(भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाप्रलयकारी बाढीले निम्त्याएको संकट १९औँ दिनसम्म आइपुग्दा पनि टर्न सकेको छैन । अझै हजारौँको संख्यामा मानिसहरू बेपत्ता हुँदा अधिकांश परिवारहरूले आफन्त फर्किने आश मार्दै गएका छन् भने केही परिवार र आफन्तहरूमा अझै पनि आशाको दियो बलिरहेकै छ । सरकारले खोज तथा उद्धार कार्यमा अहिलेसम्म देखाएको निरन्तरको सक्रियताका कारण पनि पीडित परिवारहरू आशान्वित पर्खाइमा छन् । त्यसमा पनि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूका परिवार फेरि चामत्कारिक उद्धारको पर्खाइमा छन् । किनकि सरकारले रसुवा र नुवाकोटका विभिन्न ६ वटा जलविद्युत् आयोजनाका टनेलहरूमा खोजी कार्य जारी राखेको छ । नेपाली सेनासहितका सुरक्षा निकाय, विज्ञ प्राविधिक टोली र विदेशी विशेषज्ञ टोली १९औँ दिनसम्म पनि अनवरत रूपमा खटिइरहेका छन् । जहाँ अहिले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको उद्धार कार्यले सबैको ध्यान केन्द्रित गरेको छ । किनकि उक्त सुरुङभित्र जीवित रहेको आशा गरिएका ६ जना चमत्कारको आशामा अन्तिम साससँग लडिरहेका छन् ।
हाइड्रोको भूमिगत विद्युतगृहमा कर्मचारीहरू जीवितै रहेको आशा गरिएको छ । सुरुङ साँघुरिएको स्थान करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको प्रतिध्वनि (इको) सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेकाले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल हुनसक्ने र जीवितै उद्धार गर्न सकिने आशा अझै मरेको छैन । जसका लागि अहिले सम्पूर्ण जनशक्ति परिचालन गरेर युद्धस्तरमा काम भइरहेको छ ।