देश

बालेन–रवि कनेक्सन ः ५ तथ्यमा हेरौँ यथार्थ, आ–आफ्नै शंका, जेल पुग्नेदेखि सत्ता गुम्नेसम्म (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली राजनीतिमा चामत्कारिक उदय हुँदै झण्डै दुई तिहाइ बहुमतसहित सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले उकुसमुकुस छ । नागरिकको अभूतपूर्व मत पाएर ‘सिंहदरबार’ छिरेको सरकार र ‘घण्टीघर’ बीचको दूरी बढ्दै गएको अड्कलबाजी चोक–चियापसलदेखि राजनीतिक वृत्तसम्म चुलिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच बाहिर देखिँदा सम्बन्ध सुमधुर जस्तो लागे पनि भित्रभित्रै दरार आउन थालेको चर्चा व्यापक छ । पार्टी र सरकार सञ्चालन, नियुक्ति प्रक्रिया, शक्ति–सन्तुलन, सांसद तथा मन्त्रीहरूको कार्यसम्पादन र राजनीतिक निर्णयको शैलीले उनीहरूबीचको मतभेदलाई छताछुल्ल पार्न थालेको छ । सभापति लामिछानेले सार्वजनिक रूपमै आफूहरूबीच कुनै खटपट नरहेको दाबी गरिरहँदा, प्रधानमन्त्री बालेनले भने सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो पटक होइन’ भन्ने अर्थपूर्ण स्टाटस लेखेर पार्टीभित्रैबाट आफूलाई दबाब परेको संकेत गरेका छन् । सरकार सञ्चालनमा पर्याप्त साथ नपाएको गुनासो हो वा सामान्य राजनीतिक अभिव्यक्ति ? बालेनले स्पष्ट पारेका छैनन् ।