खेलकुद

डेढ लाख पुरस्कार राशीको फुटसल प्रतियोगिता हुँदै

योहो संवाददाता

काठमाडौं— रानीवन जनजागरण युवा क्लबको आयोजनामा खुला फुटसल प्रतियोगिता हुने भएको छ । नागार्जुन नगरपालिका वडा नं. १ को समान्वयमा आगामी वैशाख १२ र १३ गते दुई दिन फुटसल प्रयोगिता हुन लागेको हो ।

बन्द कोठाभित्र डिजिटल दुनियाँमा मात्रै युवाहरू सीमित भइ रमाइरहेका अवस्थामा खेलको माध्यमबाट आत्मीयता बढ्ने विश्वाससहित प्रतियोगिताको आयोजना गरिएको क्बलका अध्यक्ष कृष्णराना मगरले बताएका छन् । स्वस्थ र तनावमुक्त जीवनयापनका लागि पनि खेलको महत्वपूर्ण भूमिका हुने हुँदा नयाँ वर्षकै सेरोफेरामा नयाँ उत्साह र जोशसँगै मनोरञ्जन र भाईचार अभिवृद्धिका लागि पनि खेलको आयोजना गरिएको रानाले बताए ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको आयोजकले फुटसलमार्फत् खेलाडीलाई एकताबद्ध गर्न खोजेको पनि उल्लेख गरेको छ । नक आउट चरणमा हुने प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क सात हजार पाँच सय तोकिएको छ । टिम दर्ताका लागि अन्तिम मिति भने वैशाख ११ गतेसम्म रहेको छ ।

प्रतियोगिताको विजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद एक लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७० हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोल रक्षकलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितका सम्पूर्ण खेलहरू नागार्जुन ७ स्थित गौतम चोकमा रहेको एम्पायर स्पोर्टस् फुटसल एरिनामा हुने छन् । ५ए साइडको हुने फुटसल प्रतियोगितामा सम्पूर्ण खेल प्रेमीहरूले सहभागी जनाई खेलको विकासमा सहयोग गरिदिने अपेक्षा आयोजकले गरेको छ ।