काठमाडौं – झापामा डेंगु संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डेंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको हो ।
उनको उपचारका लागि झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय झापाका अनुसार, चालु वर्षमा डेंगु संक्रमणबाट मृत्यु हुने सुरविरा पहिलो व्यक्ति हुन्। गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो। अहिले जिल्लाभरि डेंगुका ५५ जना संक्रमित उपचाररत् छन् । तीमध्ये बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना उपचाररत छन् ।
संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ। डेंगु विशेषगरी असारदेखि असोज महिनासम्म बढी देखिए पनि झापामा भने वर्षैभरि संक्रमण देखिने गरेको छ ।
प्रतिक्रिया