समाचार

आज विश्व योग दिवस मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त


आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने गरिन्छ । सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने नाराका साथ नेपालमा पनि योग दिवस मनाइँदैछ ।

विश्व योग दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले योग पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश भएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलल ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउँने तनावबाट मुक्त गराउने र सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले योगको माध्यमबाट दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने,सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त हुने र आत्मप्रेरणा हासिल हुनेलगायत सकारात्मक गुणको विकास हुन सक्ने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।

हाल नेपालमा माघ १ गते राष्टिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ ।