Breaking

स्वास्थ्य बीमामा १० अर्ब- बाँकी दाबी परीक्षण गराई यसैपटक भुक्तानी


 सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै बाँकी दाबी तेस्रो पक्षबाट परीक्षण गराइ यसै वर्ष भुक्तानी गर्ने बताए ।

‘स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छु । हालसम्म बाँकी दाबी भुक्तानीको रकम तेस्रो पक्षबाट परीक्षण गराइ यसै आर्थिक वर्ष भित्र फरफारक गर्ने व्यवस्था मिलाएको छु’, पौडेलले भने ।

त्यस्तै, बीमितहरूलाई फरक-फरक पोलिसी उपलब्ध गराइने र बीमा सुविधाको दुरुपयोग हटाउन दोहोरो सुविधा हटाइने भएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसङ्ख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । यससम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिने भएको छ ।

बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिने भएको छ । सामाजिक स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा एकीकृत गरिने भएको छ ।