Uncategorized

सदनको हालत : अर्थमन्त्री निदाउँछन्


आजदेखि संघीय संसदका दुुबै सदनमा प्रिबजेट छलफल सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी बजेटका ७ सिद्धान्त, २५ प्राथमिकतामाथि छलफल सुरु भएको हो । एकातर्फ सत्ता र प्रतिपक्षको नोकझोंक, अर्कोतर्फ सांसदहरुको न्यून उपस्थितिले सुरुकै दिनको छलफल खल्लो बनायो ।

सबै भन्दा पहिले प्रि–बजेट छलफलको पहिलो दिन मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको उपस्थिति हेरौँ ।

अर्को रमाइलो प्रसंग । आफ्नै मन्त्रालयसँग सम्बन्धित छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भने निदाइरहेका थिए । संसदको क्यामेराको फ्रेममा नपरेका उनी पत्रकारको क्यामेराको फ्रेममा परेपछि झल्यास्स ब्यूँझिएर मुस्कान दिएको दृष्यले चर्चा पाएको छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने महत्वपूर्ण सत्रमा संसद हलका अधिकांश कुर्सीहरु खाली देखिए । र यो अहिले मात्र होइन । गणपुरक संख्या नै नपुग्ने गरेको विगत छ । सांसदहरु सदन आउँछन् हाजिर गर्छन अनि टाप कस्छन् । संसद सचिवालयको तथ्यांक हेर्ने हो भने सुरुमा १९४ सांसदले हाजिर लगाएका थिए । तर, छलफलका क्रममा भने अधिकांश कुर्सी खाली देखिएका थिए ।

ठूला नेता भनिने सत्तारुढ सांसद नै संसदमा नदेखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खोजी गरे । नेपाली ठेट उखानटुक्का सुनाउँदै कटाक्ष गर्न थाले ।

शुन्य र विशेष समयमा सुरु भयो सत्ता र प्रतिपक्षीको असली भिडन्त । कसैले सरकराको आलोचना गरे । कसैले वर्षौँदेखि प्रतिवद्धता भएको योजनामा बजेट नपठाएको भन्दै कटाक्ष गरे । कांग्रेसका सांसद दपक गिरीले सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको टिप्पणी गरे । दाङस्थित टरिगाउँ विमानस्थललाई राजनीतिक दलहरूले चुनाव जित्ने भ¥याङको रूपमा मात्र प्रयोग गरेको आरोप लगाए ।

जनमोर्चाका सांसद चित्रबहादुर के.सीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन् । २२ वर्षदेखि निर्माणको प्रक्रियामा भए पनि अहिलेसम्म सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण रहेको उनको गुनासो छ ।

नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् । निजी कम्पनीहरुको विवादमा पन्थीविरुद्ध एक वर्ष पहिले नै पक्राउ पुर्जी जारी गरिएको थियो ।तर, बुद्ध जयन्तीमा उनी प्रधानमन्त्रीसाग कुम जोडेर बस्दा समेत पक्राउ नगरिएकोमा बरालीले आपत्ति जनाए ।

प्रिबजेट छलफलमा भाग लिँदै सांसदहरुले बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्नेमा जोड दिएका छन् । कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता वृद्धि र परिणाममुखी योजनाका साथ सरकार अघि बढ्नुपर्ने सुझाव दिँदै बजेट खर्च भएर मात्रै नहुने त्यसले दिने प्रतिफल बजेटको मूख्य उद्देश्य हुनु पर्ने बताए ।

नेकपा एमालेका सांसद गोकर्ण विष्टले नेपालमा देखिएको विकासका गम्भीर चूनौतिलाई चिर्न सक्ने गरि सरकारले आगामी बर्षको बजेट तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन । यस्तै नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले सहकारी क्षेत्रको सहभागीतामा मिश्रित अर्थव्यवस्थाका धेरै अलमिलनुपर्ने अवस्था नरहेको बताएका छन् । आगामी जेठ २ गतेसम्म प्रिबजेट छलफल जारी रहनेछ । छलफलका लागि सत्तारुढ सांसदहरुले चार दिनमा १२ घण्टा र प्रतिपक्षीले ६ घण्टा पाएका छन् । यीनै छलफल समेत समेटेर जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको बजेटट प्रस्तुत हुनेछ । आगामी जेठ ६ गते भने नियमित कार्यक्रमअन्र्तगत प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर तय भएको छ ।