Uncategorized

KIIT प्रकरण : किन असुरक्षित नेपाली चेली ? प्रिसा घटनामा के गर्दै छ सरकार ?


भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा साढे दुई महिनाको अन्तरमा फेरि अर्की नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । वीरगन्ज घर भएकी नेपाली छात्रा प्रिसा साह बिहीबार बेलुका होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएसँगै फेरि पनि कलेज प्रशासन र सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठेको छ ।


भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि अर्की नेपाली छात्राको मृत्यु घटनाले सबैलाई झस्काएको छ । साढे दुई महिना अघि गत फागुन ४ गते मात्रै नेपाली छात्रा प्रकृति लम्सालको सोही कलेजमा रहस्यमय मृत्यु भएको थियो । एउटा पीडाको खाटो पुरिन नपाउँदै अर्की छात्राको मृत्यु प्रकरणले सबैलाई स्तब्ध बनाएको छ । वीरगञ्ज स्थायी घर भएकी स्नातक प्रथम वर्षमा अध्ययरत १८ वर्षीया साह होस्टेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्युको खबर पाएलगत्तै भूवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोलीसमेत पुगेको थियो । त्यसपछि शवलाई अस्पताल पठाइएको थियो ।दुई महिनाअघि वीरगञ्जको सडकमा (केआईआईटी) मा रहस्यमय मृत्युवरण गरेकी बुटवलकी प्रकृति लम्सालको न्यायका निम्ति प्रिसाले आन्दोलनकोे अगुवाई गरेकी थिइन । तर एक जना आफ्नै साथीको न्यायका लागि लड्ने साहसी प्रिसाले प्रकृतिको जस्तै नियति भोगिन् ।

प्रिसाले आत्महत्या गरेको वा अन्य कुन कारणले मृत्यु भएको हो ?भन्ने विषय अहिलेसम्म रहस्यकै गर्भमा छ ।बिहीबार बेलुका मृत फेला परेकी प्रिसाको घटनाबारे ओडिसा राज्य सरकारले औपचारिक छानबिन प्रक्रिया शुरू गरेको जनाएको छ । राज्यको मौलिक तथा जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार, स्थानीय प्रहरीलाई बिहीबार राति ८ बजेर १० मिनेटमा घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिश्नरलगायत अनुसन्धानमा खटिएका छन् । विज्ञप्तिमा घटनाको कारण पत्ता लगाउन सोधपुछ र प्राविधिक विश्लेषण भइरहेको जनाइएको छ । छानबिन प्रारम्भ भए पनि विद्यार्थीहरूको सुरक्षामा विश्वविद्यालय प्रशासनको भूमिका र निगरानीप्रणालीप्रति प्रश्न उठ्न थालेका छन् । विद्यार्थी, अभिभावकहरू, नेपाली समुदाय र विद्यार्थी युनियनहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रकृति मृत्यु प्रकरणमा विद्यार्थीहरू आन्दोलित हुँदा कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो । उक्त घटना सम्झँदै प्रहरीले दूतावाससँग त्यो बेलाको जस्तो कमजोरी अहिले नगर्ने प्रतिबद्धता जनाएको छ । प्रिसाले बिहीबार दिउँसो घर आउन टिकट काटिदिन भन्दै फोन गरेकी थिइन् । परिवारका अनुसार उनले आगामी जेठ ४ गते घर आउने भन्दै टिकटका लागि फोन गरेकी थिइन् ।बिहीबार दिउँसो ३ बजे वीरगन्जमा रहेका परिवारसँग फोन गरेकी प्रिसाको परिवारसँग यो नै अन्तिम संवाद थियो ।प्रिसा एक वर्ष अघिमात्र उच्च शिक्षा अध्ययनका निम्ति भारतको उडिसा पुगेकी थिइन् । उनको मृत्युको अप्रत्याशित खबरले परिवारमा पहाड खसे जस्तै भएको छ । खबर सुन्ने बित्तिकै बुबा, आमासहित परिवारका सदस्य ओडिसा पुगेका छन् ।प्रिसाको परिवार सर्लाहीको मलंगवाबाट वीरगञ्ज–१५ मा बसोबास गर्दै आएको थियो।

प्रिसाको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ ।मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै किटमा मृत्यु भएकी साहको परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ ।‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’ यता परराष्ट्र मन्त्रालयले पनि साहको मृत्यु घटनाको छानबिनका निम्ति कूटनीतिक पहल सुरु गरेको बताएको छ ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली छात्रा प्रिसा आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन् ।

घटनालगत्तै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य, तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको परराष्ट्रमन्त्री राणाले बताएकी छन् । यसअघि फागुन ४ मा केआईआईटीमै मृत्यु भएकी बुटवलकी प्रकृति लम्सालले आफूलाई एक जना युवकले मानसिक यातना दिइरहेको भन्दै कलेज प्रशासनमा पटकपटक उजुरी दिएकी थिइन् । तर सुनुवाइ नभएपछि अन्तिममा ज्यान गुमाउन बाध्य हुनु परेको घटना बाहिरिएको थियो ।घटनाको निष्पक्ष अनुसन्धानको साटो शान्तिपूर्ण प्रदर्शन गर्न खोज्ने विद्यार्थीलाई उल्टै दमन गरेपछि कलेजको आलोचनासमेत भएको थियो । पछि यो मामलामा निष्पक्ष जाँचका लागि नेपालले कुटनीतिक पहल समेत गर्नुपरेको थियो ।

त्यो घटनामा लम्साललाई यातना दिने वीटेक तेस्रो वर्षका विद्यार्थी अड्विक श्रीवास्तव पक्राउ परेका थिए ।यो प्रकरणले नेपाल सरकार, नेपाली दूतावास, र भारतीय अधिकारीहरूबीच प्रभावकारी कूटनीतिक समन्वयको आवश्यकता देखाएको छ। तर यस्ता घटनाहरू दोहोरिनुले दीर्घकालीन समाधान र जवाफदेही संयन्त्रको अभावलाई इंगित गरेको छ ।यस्ता घटनाहरूले नेपालमा अभिभावकहरू र समाजमा विदेशमा आफ्ना सन्तानलाई पढ्न पठाउने निर्णयप्रति चिन्ता र सन्देह उत्पन्न गराएको छ। प्रिसाको मृत्यु प्रकरणले विदेशमा नेपाली विद्यार्थीहरूको सुरक्षा, मानसिक स्वास्थ्य, र संस्थागत जवाफदेहिताको सवालमा गम्भीर कमजोरीहरू उजागर गरेको छ। यसले नेपाल र भारत दुवैका सरकारहरू, शैक्षिक संस्थाहरू र सम्बन्धित निकायहरूलाई विदेशी विद्यार्थीहरूको हित र सुरक्षाका लागि ठोस नीति, पारदर्शी छानबिन र प्रभावकारी समन्वयको आवश्यकता रहेको औँल्याएको छ। यो घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिन र यस्ता दुःखद घटनाहरूको पुनरावृत्ति रोक्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ।