भारतको कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटक लक्षित आतंकवादी हमला र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका हृदयविदारक दृश्यहरुले विश्वकै ध्यान तानेको छ । आतंककारीहरुको आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । पहलगाम घटनासँगै भारतको सुरक्षामाथि प्रश्न खडा भएको छ भने यो घटनालाई भारत सरकारले कसरी सम्बोधन गर्छ ? सबैको चासोको विषय बनेको छ ।
भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रको बैसरण भ्यालीमा मंगलबार भएको आतंकवादी हमालपछि यो तस्बिर सामाजिक सञ्जालमा सर्वत्र चर्चामा छ । यो तस्बिर आतंकवादीहरुको आक्रमणमा परी मृत्यु भएका विनय नरवाल र भुईंमा ढलेको उनको शव छेउमा चुपचाप बसेकी उनकी श्रीमती हिमांशी नरवाल हुन् । स्वीजरल्याण्डको भिसा नपाएपछि विवाह भएको ६ दिनपछि हनिमुन मनाउन मिनी स्वीजरल्याण्डको नामले परिचित बैसरण पुगेका विनय र हिमांशीको वैवाहिक यात्राको सुरुवातमै टुङ्गिन पुग्यो । नरवाल भारतीय जलसेनाका लेफ्टेनन्ट थिए ।
यस्तै आफ्नी आमा, बहिनी र ज्वाइँसहित बिदा मनाउन जम्मु कश्मिर पुगेका बुटवलका सुदीप न्यौपाने घर फर्किन पाएनन् । बन्दुकधारी आतंकवादीहरुको समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूहको हो भन्दै सोधेपछि एकाएक गोली हानेका थिए । आतंकवादीहरुले हिन्दु कि मुस्लिम भन्दै पहलगाम घुम्न पुगेका पर्यटकलाई सोधी सोधी मुस्लिम धर्म नमान्नेहरुमाथि अन्धाधुन्ध गोली चलाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुदीपको शव नेपाल पठाइएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाइएको जानकारी दिएको हो । श्रीनगरबाट उनको शव जहाजमार्फत पठाइएको छ भने बुधबार रातिसम्ममा नयाँ दिल्लीबाट गोरखपुर, सुनौली हुँदै बुटवल आइपुग्ने जानकारी दिइएको छ । दिल्लीबाट हवाई जहाजमार्फत लखनउसम्म शव ल्याइने छ भने लखनउबाट नेपालको सीमासम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको छ । सुदीपको शवसँगै उनीसँगै गएका आफन्तहरुलाई पनि बुधबारै नेपाल ल्याउन लागिएको छ । बैंकक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग सुदीपको शव बुधबारै नेपाल ल्याउन पहल गरेकी थिइन् भने दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग कुराकानी गरी आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् ।
आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा इन्जिनियरिङ पढ्दै थिए । बुबा र आमाबीच सम्बन्ध विच्छेदपछि छोरा र छोरी आमाको साथमा बस्दै आएका थिए । सुदीपका बुवा भने बुटवल १८ स्थित भवानी माविका शिक्षक हुन् । काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनमा भाग लिइरहेका उनी काम विशेषले बुधबार बिहान बुटवल फर्किंदै गर्दा कश्मीरमा आतंकवादीको आक्रमणमा परी छोराको मृत्यु भएको खबर बाटोमै थाहा पाएका थिए ।
फुर्सदको समय निकालेर आफ्नो परिवारसँग घुम्न पुगेका पर्यटकहरुमाथि हमला हुँदा मंगलबार अपराह्न बैसरण भ्याली एकाएक आतंकित बन्न पुग्यो भने २७ जनाको मृत्यु भएको छ । नेपाल र यूएईका नागरिकसहित गर्मी छल्न कश्मीर पुगेका गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका भारतीय नागरिक आक्रमणमा परेका हुन् । मिनी स्वीजरल्यान्डको रुपमा परिचित यो ठाउँ विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ । जम्मुकश्मीर क्षेत्रमा पर्यटकहरुलाई नै लक्षित गरी भएको यो आतंककारी हमालले विश्वभर हल्लीखल्ली मच्चिएको छ ।
नेपालसहित उक्त घटनाको विश्वभरबाट निन्दा भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेर आतंकवादविरुद्ध भारतको साथमा नेपाल पनि रहेको भन्दै ऐक्यबद्धता जनाएका छन् । सो घटनामा नेपाली नागरिकको समेत मृत्यु भएका कारण प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन सम्वाद गर्दै आक्रमणमा परी ज्यान गुमाएकाहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
यस्ता जघन्य कार्यविरुद्ध भारतसँग नेपालको दृढ ऐक्यबद्धता रहेको प्रधानमन्त्री ओलीले दोहो¥याएका छन् । विश्वको ध्यान तानेको पहलगाम प्रकरणको छानविन गर्न भारत सरकारले सक्रियता देखाइसकेको छ । घटना लगत्तै मंगलबार साँझ नै जम्मु कश्मीर पुगेका भारतीय गृहमन्त्री अमित शाहले बैसरण भ्यालीको स्थलगत निरीक्षणसहित मृतक र घाइते भएका परिवारसँग भेट गरेका छन् । आक्रमण गर्ने आतंकवादीहरुलाई नछाड्ने बचन दिएका छन् । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमण छोट्याएर मंगलबार नै स्वदेश फर्किएका छन् । उच्च सुरक्षा संयन्त्रको बैठक सहित सुरक्षा व्यवस्था कडा बनाइएको छ । तीन जना आतंककारीहरुको स्केच सार्वजनिक गरिसकेको छ । उनीहरु आसिफ फुजी, सुलेमान शाह र अबु तल्हा रहेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु द रेजिस्टेन्स फ्रन्टका सदस्य रहेको दाबी गरिएको छ । घटनाको जिम्मेवारी सोही समूहले लिएको छ ।
आक्रमणमा ५ आतंकवादी लडाकु रहेको र तीन जना पाकिस्तानी रहेको भारतीय सुरक्षा एजेन्सीहरुले बताएका छन् । द रेजिस्टेन्स फ्रन्ट आतंकवादी समूह लस्कर ए तैयबाकै एउटा गुटको रुपमा सक्रिय छ । भारत सरकारले घटनापछि जुन सक्रियता देखाइ रहेको छ, त्यसको प्रशंसा भए पनि घटना हुनु पूर्वको सुरक्षा व्यवस्थालाई लिएर भने भारतीय सुरक्षा संयन्त्र आलोचनाको केन्द्रमा परेको छ । सरकारले यसलाई कसरी सम्बोधन गर्छ आम चासोको विषय बनेको छ । अझ कुन धर्मको हो भन्दै सोधी सोधी गोली हानेको विषय अर्को महत्वपूर्ण पाटो हो । आतंकवाद मात्र नभई जातीय र धार्मिक द्वन्द्वको भयसमेत बढेको छ । भारतीय सञ्चारमाध्यमहरुले केही दिनअघि पाकिस्तानको सेना प्रमुखको सम्बोधनलाई आधार बनाएर उक्त घटनामा पाकिस्तानको नाम मुछिरहेका बेला पाकिस्तानले यो घटनामा आफ्नोको हात नरहेको स्पष्ट पारेको छ । पाकिस्तानी अधिकारीले यो भारतको आन्तरिक मामिला भएको टिप्पणी गरेका छन् । यसअघि संविधानको धारा ३७० अनुसार जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिइएको थियो । अहिले यो धारा खारेज गरिसकेको छ । उक्त धारा खारेजपछिको यो ठूलो हमला हो । योसँगै अब भारत जम्मु कश्मिर मामिलामा कसरी अगाडि बढ्छ भन्ने बहस सुरु भएको छ ।
प्रतिक्रिया