Uncategorized

तीनकुने प्रकरणबारे प्रहरीले थाल्यो आन्तरिक छानबिन


तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ ।

तीनकुने प्रकरणमा प्रहरीको कमजोरीलाई लिएर प्रश्न उठिरहेका बेला त्यसबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति बनाएको हो ।

उपत्यका प्रहरीका एक अधिकृतका अनुसार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालको नेतृत्वका गठित ७ सदस्यीय समितिले तीनकुने घटनाबारे छानबिन गरिरहेको छ ।

‘यो विशुद्ध प्रहरीको आन्तरिक छानबिन समिति हो, यसमा प्रहरीतर्फबाट कुनै कमजोरी भए कि भन्ने विषयमा बुझ्ने काम हुन्छ’, उनले भने, ‘भोलिका दिन पनि त्यस्ता कमजोरी नदोहोरिउन् भन्ने हिसाबले समिति बनाइएको हो ।’

१५ चैतमा दुर्गा प्रसाईं जनकमान्डर तोकिएको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु र गोली लागेर २० जना घाइते भएका थिए । निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड समेत भएको थियो ।