राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापति रवि लामिछाने सहकारी प्रकरणमा कारागार चलान भएको १५ दिन नबित्दै पार्टीमा हलचल आएको छ । पार्टीको सहमहामन्त्री सुमना श्रेष्ठले एक व्यक्ति एक पद भन्दै पदबाट राजीनामा दिएकी छन् । जसले पार्टीमा गुट, उपगुट र द्वन्द्व मौलाएको अर्थमा हेरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले ‘एक व्यक्ति, एक पद’को नीति अवलम्बन गर्ने भन्दै विहीवार बसेको केन्द्रीय समितिको बैठकमाराजीनामा बुझाइन् । पद लिँदा एक पद एक व्यक्तिको नीति नदेखेकी सुमनाले पद सम्हालेको करिब चार महिना पछि एकाएक नीति अनुशरण गर्ने अनुशासित व्यक्ति बन्न पुगिन् । सुमनाले हाल सभापति रवि लामिछाने सहकारी प्रकरणमा कारागार चलान भएको समय संसदभन्दा पार्टीलाई गति दिन सक्रियता देखाउनु पर्ने थियो । त्यसमा उनले सांसद पदबाट राजीनामा दिएर पार्टी हाँक्छु भनेको भए उनको तारिफ हुन सक्थ्यो तर, पार्टी अप्ठ्यारो अवस्थामा गुज्रिरहेका बेला एकाएक दिएको राजीनामाले विभिन्न जिज्ञासाहरु उब्जिएको छ ।
हिजो विवेकशील साझा हुँदै रास्वपावादी बनेकी सुमनाले पुरानो आफ्नो रंग देखाउन थालेको अर्थमा यसलाई हेरिएको छ । पार्टीपंक्ति भित्र पनि उनी सहमहामन्त्री पदबाट बेखुसरहेको आरोप लाग्ने गरेको छ । तर सुमनाले आफ्नो राजीनामा पत्रमा लामै ब्याख्या गर्दै पुरानो दलहरुमा देखिएको पदको लालसाको कुप्रथा नयाँ भनिएकाहरुमा नहनु पर्ने जिकिर गरेकी छन् । उनले आफू सङ्घीय सांसद हुँदा पार्टीको अर्को महत्त्वपूर्ण जिम्मेवारी लिँदा पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जाने भएकाले राजीनामा दिएको तर्क गरेकी छन् । ‘अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर, रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन’, उनले अगाडि भनेकी छन्,‘एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न सक्दैन ।’ पार्टीको सहमहामन्त्रीको रूपमा पार्टी सङ्गठन निर्माणलगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव नभएको उनको भनाइ छ ।
पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सुमनाले वर्तमान राजनीतिसँग असन्तुष्टि बोकेका र नयाँ सोच भएकाहरु एक ठाउँमा आउनैपर्नेमा जोड दिएकी छन् । जसले उनको राजीनामाले झनै शंकास्पद बनाएकोछ । ‘एक व्यक्ति, एक पद’को नीति सम्झाउँदै सुमनाले दुई हप्ता अगाडि नै पार्टी सभापति लामिछाने समक्ष राजीनामाको विषय उठाएकी थिइन् । सभापति लामिछानेको आग्रहमै सुमनाले केही दिन राजीनामा रोकेर राखेको बुझिएको छ ।
बिहीबार कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकमा छलफलसमेत भएको थियो । यस विषयमा अब बस्ने बैठकमा आवश्यक छलफल र निर्णय हुने कार्यवाहक सभापति अर्यालले जानकारी गराएका छन्। विहीवार सुमनाले एक पद एक व्यक्तिको अवधारण पार्टीमा सम्झाउदै गर्दा केन्द्रिय समितिको बैठकले भने दोहोरो जिम्मेवारी पर्नेगरी पार्टीका ६ नेतालाई प्रदेश इन्चार्ज तोकेको छ। जसमा कोशी प्रदेशका लागि सन्तोष परियार तोकिएका छन्। जो पार्टीका तर्फबाट प्रमुख सचेतक (सांसद) नै हुन्। यस्तै मधेश प्रदेशका लागि मनीष झालाई इन्चार्जको जिम्मेवारी दिइँदा उनी पनि प्रतिनिधिसभाका सांसद हुन् भने पार्टीका कार्यवाहक प्रवक्तासमेत हुन्। बागमती प्रदेशका इन्चार्ज तोकिएकी लीमा अधिकारी भने केन्द्रीय सदस्य मात्रै हुन्। गण्डकी प्रदेशको इन्चार्ज तोकिएका शिशिर खनाल पनि सांसद हुन् भने लुम्बिनी प्रदेशका लागि इन्चार्ज तोकिएका विपिनकुमार आचार्य पार्टी सहमहामन्त्री हुन्।यस्तै कर्णाली प्रदेशका लागि इन्चार्जको जिम्मेवारी पाएका गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि इन्चार्ज तोकिएका हरि ढकाल पनि सांसद हुन्। यसरी रास्वपाले ६ नेतालाई दोहोरो जिम्मेवारी हुनेगरी इन्चार्ज तोकेको छ। जसले रास्वपामा आन्तरिक छलफलभन्दा आफूखुसी निर्णय चल्ने गरेको देखिन्छ । तर यस बारेमा कार्यवाहक प्रवक्ता मनीष झाले भने अभियान र कार्यक्रमलाई छुट्याएर हेर्नुपर्ने बताएका छन् । जनयात्रा अभियान भएको र त्यो चार महिनामा सकिने बताउँदै उनले इन्चार्जको काम मूलतः महाधिवेशनसम्मका लागि भएको जिकिर गरे । तोकिएको समयमा महाधिवेशन जसरी पनि गर्नुपर्छ भन्ने उद्देश्यले इन्चार्ज तोकिएको उनको भनाइ छ ।
रास्वपाका संस्थापक सभापति लामिछाने कारागार चलान भएको १५ दिन नपुग्दै रास्वपामापहिरो गएको छ । सभापतिको अनुउपस्थितिमा पार्टीलाई चलायमान बनाउन जिम्मेवारी सम्हाल्दै सक्रिय हुनु पर्ने बेला सुमनाको राजीनामाले पार्टीमा टुटफुटको श्रृंखला सुरु भएको देखिन्छ । जसको सुरुवात सहमहामन्त्री सुमनाले गरेकी छन् । यसले रास्वपाभित्र पनि आन्तरिक द्वन्द्व सुरु भएको अर्थमा हेरिएको छ । साथै नयाँ भनेर उदाएकाहरु पनि पुराना दलभन्दा झनै अवसरवादी र अहंकारी जस्तो देखिँदा, यिनीहरु पनि नयाँ बोतलमापुरानै रक्सी भएको आरोपमा थप बल पुगेको छ ।
प्रतिक्रिया