काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतशितले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भइ नौ खर्ब ५८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार ६२२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार ८८६ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ४५ हजार ४३२ र एक लाख ५७ हजार ४५ रहेको थियो । यस्तै देशको विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रहेको विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विदेशी सञ्चिति १७ अर्ब पाँच करोड पुगेको छ । यसमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब पाँच अर्ब १४ करोड रुपैयाँ छ ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ को सात महिनामा आयात–निर्यात दुवै बढेको छ। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो। आर्थिक वर्ष २०८१ /८२ को सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो।
प्रतिक्रिया