Uncategorized

गुमनाम रवि भित्रभित्रै सक्रिय,भण्डाफोर गर्न देश दौडाहाको तयारी


देशको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)आन्तरिक व्यवस्थापनमै अलमलिरहेको छ । आशा र भरोसा गरिएको तथा पुरानाहरुको विकल्पका रुपमा उदाएको नयाँ दल जनताको एजेण्डालाई स्थापित गर्नेभन्दा पनि पार्टी र पार्टी पदाधिकारीहरुमाथिको आरोप पखाल्नमै व्यस्त देखिन्छ । जसले पछिल्लो समय रास्वपाका संस्थापक सभापति रवि लामिछानेसंगै सिंगो पार्टी पंक्ति नै सुस्ताएको छ ।

पार्टी गठनको पाँच महिनामै चामत्कारिक रुपमा राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विकल्पको रुपमा जबरजस्त इन्ट्री गरेको अर्थमा हेरिएको थियो । पुराना दलहरुलाई चकित पार्दै संसदको चौथो शक्ति बनेको रास्वपाका नेता तथा कार्यकर्ताहरुमा सुरुवाती चरणमा छुट्टै जोश, जाँगर र उत्साह देखिन्थ्यो । तर स्थापनाकै करिब साढे दुई वर्षमैसंस्थापक सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोपले डामेसँगै रास्वपाको रापताप विस्तारै सेलाउँदै गएको छ ।

पार्टीको आशा, भरोसा र जगका रुपमा रहेका सभापति लामिछानेमाथि सहकारी ठगीका साथै सम्पत्ति शुद्धीकरणमासमेत मुद्दा दर्ता हुँदा उनको सांसद पद नै निलम्बनमा परेको छ ।सहकारी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा र हिरासत झेलेका लामिछाने सांसद पद नै खोसिएपछि थप सुस्ताएको देखिन्छन् । जसको प्रत्यक्ष प्रभाव सिंगो पार्टीमा परेको छ । सभापति लामिछानेमाथि लागेको आरोप र विवादका विषयमा सडकदेखि संसदसम्मै रास्वपाका सांसदहरुले आवाज उठाए पनित्यसले कुनै प्रभाव पारेको छैन । फलतः उनीहरुले उठाएको आवाज, ‘करायो करायो, दक्षिणा हरायो’ भने झै हुन पुगेको छ । रवि बिनाको रास्वपा अहिले रानो बिनाको मौरी जस्तो बनेको छ ।

संसदको हिउँदे अधिवेशनको सुरुवाती दिनहरुमा सभापति लामिछानेको सांसद पद फिर्ताको माग गर्दै चर्को स्वर गरे पनि त्यो सम्बोधन नहुने संकेत देखेपछि पछिल्लो समय उनीहरु मत्थर भएका छन् । चितवनको सहारा सहकारीको मद्दामा धरौटीमा छुटे पछि सभापति लामिछानेसमेत गुमनाम जस्तै छन् ।

हिरासतमा हँुदा रविको हरेक क्रियाकलापको जानकारी पार्टी पदाधिकारी तथा कोर टिममा रहेकाहरुले दिने गरे पनि पछिल्लो समय उनको अवस्था अज्ञात जस्तै बनेको छ ।रविको वर्तमान अवस्था उनका भित्रियालाई बाहेक कसैलाई जानकारी छैन । हिरासतमा हुँदा ठूलो जनसमर्थन र सहानुभूति पाएका लामिछाने एकाएक गुमनाम हुँदा शुभेक्षुक तथा शुभचिन्तकमा भने चासो र चिन्ता बढेको देखिन्छ । तर रास्वपाका नेताहरु भने रविको खोजी गर्नेभन्दा पनि जीबी राई कहाँ छन् ? भनेर खोज्न सरकारलाई आग्रह गरिरहेका छन् ।

प्रतिपक्षमा रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सरकारबाट बाहिरिएपछि जनताको घरघर पुगेर जागरण अभियान चलाइरहेका छन् । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापा पनि देश दौडाहामा छन् । तर प्रतिपक्षमा रहेको रास्वपा भने व्यक्तिगत किचलोमै रनभुल्लमा परेको देखिन्छ । सामाजिक सन्जाल र मिडियाकै बलमा उदाएको रास्वपा अहिले त्यही सामाजिक सन्जालमासमेत निष्क्रिय जस्तै छ । मिसन ८४ भन्दै कुर्लिने रास्वपाको आगामी चुनावी मिसनसमेत अलपत्र पर्दै गएको छ । तर, रास्वपा सुस्ताएको विषयलाई नेताहरु भने अस्वीकार गर्छन् । जिल्ला जिल्लामा संगठन निर्माणका साथै वडादेखि पालिकासम्मै अधिवेशन चलिरहेकाले आन्तरिक रुपमा संगठन विस्तारको काम भइरहेको नेताहरुको दाबी छ ।

रास्वपाले आफ्नो सभापतिमाथि नियोजित रुपमा प्रतिशोध साँधेर सहकारी प्रकरणमा डामेको आरोप लगाउँदै आए पनि हालसम्म यसको पुष्टि गर्न सकेको देखिँदैन । सभापति लामिछाने माथि लागेको आरोपलाई जनतामाझ आएर सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा त्यसो गरेको देखिँदैन । सहकारी प्रकरणका साथै सम्पत्ति शुद्धीकरणको मुद्दापछि निलम्बन भएको सांसद पद लामिछाने हिरासतमुक्त भएपछि पनि फुकुवा नहुनुमा कानुनका जानकारहरुले प्रश्न उठाएका छन् । यसले सिंगो संसदीय व्यवस्थामाथि नै भद्दा मजाग भएको उनीहरुको तर्क छ ।

दुई पटक सत्ताको सयर गरेर गृह, शिक्षा, श्रमसहित विभिन्न मन्त्रालयको अनुभव संगालेको रास्वपामाथि सरकारमा गएर पनि काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । रास्वपालाई दिएको जनमत सरकारमा जानलाई नभएको भन्दै नागरिकस्तरबाटै आलोचना हुने गरेको छ । छोटो समयमा राजनीतिमा उदाएको रास्वपा त्यति नै छोटो समयमा विभिन्न आरोप र विवादमा मुछिन पुग्यो । जसले नयाँ भनेर उदाएकाहरुमाथि प्रति पनि नागरिकको भरोसा टुट्न पुगेको देखिन्छ ।

सामाजिक सञ्जाल र मिडियामार्फत आफ्ना एजेन्डाहरुलाई आक्रामक रूपमा जनतामाझ पु¥याउँदै चौथो शक्ति बनेर संसद् छिरेको रास्वपा सरकारमा सहभागी हुँदासम्म चर्चामै थियो । तर, पछिल्लो समयसुस्ताएको छ ।हाल पार्टीको कमाण्ड गरिरहेका कार्यवाहक सभापति डीपी अर्याल पनि मौनता साँधेर बसिरहेका छन् । चर्चा गर्न लायक कुनै पनि गतिविधि उनले अघि बढाएका छैनन् । अन्य पदाधिकारी र नेता, कार्यकर्तामा पनि पहिलेको जस्तो जोश देखिँदैन । बेथितिलाई हटाउँदै देशको विकास गर्ने उद्देश्यसहित राजनीतिमा हामफालेको दल यति छोटो समयमै सुस्ताउनुले रास्वपाप्रतिको नागरिकमा भरोसा गुम्दै गएको छ भने उसको राजनीतिक भविष्यलाई लिएर चिन्ता र चर्चा हुन थालेको छ ।