काठमाडौं—भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा दुई नेपाली सुरक्षा अधिकृत पुगेका छन् । कलेजको होस्टलमा पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् ।
दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन् । भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार, टोलीले विद्यार्थी कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्ने छ । आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
उनले आफूलाई सोही कलेजमा अध्ययनरत् अड्विक श्रीवास्तवले पटकपटक दुव्र्यवहार गरेको भन्दै उजुरी दिँदा समेत कलेज प्रशासनले गम्भीरता देखाएको थिएन । बरु घटना ढाकछोप गर्न खोजेको थियो । त्यहीबीच प्रकृति मृत अवस्थामा भेटिएपछि विद्यार्थीहरुले गम्भीरतापूर्वक छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई कलेज प्रशासनले दमन गर्न खोजेको थियो, त्यसक्रममा विद्यार्थीहरुलाई सुरक्षागार्ड र प्रशासनका व्यक्तिहरुले दुव्र्यवहार गरेका थिए ।
कुटपिटमा संलग्न दुई सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरिसकेको छ भने कलेजका कर्मचारीहरु पनि बर्खास्तीमा परेका छन् । विद्यार्थीले अपशब्द प्रयोग गरेर गालीगलौज गर्ने प्राध्यापकहरुले अहिले माफी माग्दै भिडिओ राखिरहेका छन् ।
प्रतिक्रिया