Breaking

सार्वजनिक ऋण २६ खर्ब रुपैयाँभन्दा माथि उक्लियो


काठमाडौं—नेपालको सार्वजनिक ऋण २६ खर्ब रुपैयाँभन्दा माथि उक्लिएको छ । यो भनेको कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा ४५.७७ प्रतिशत हो । ार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को सात महिना (साउन–माघ) सम्म सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड पुगेको छ । चालु आव सरकारले २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ ऋण लिएको छ । यस अवधिमा १ खर्ब ५० अर्ब २० करोड ऋणको सावाँ भुक्तानी गरिएको छ ।

चालु आव सात महिनामा सरकारले वार्षिक लक्ष्यको ५३.१२ प्रतिशत सार्वजनिक ऋण उठाएको छ । यस आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य छ ।
विनिमय दरमा आएको परिवर्तनबाट ३६ अर्ब ५९ करोड दायित्व थप हुँदा सात महिनामा खुद सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब ९६ करोडले बढेको छ । यसप्रकार असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण माघ मसान्तमा २६ खर्ब ११ अर्ब ६ करोड पुगेको हो ।

माघ मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड पुगेको छ । वाह्य ऋण १३ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । जीडीपीका आधारमा आन्तरिक ऋण र वाह्य ऋण हिस्सा २२.४९ र २३.२८ प्रतिशत छ ।