नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका छन्।
कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले काठमाडौंमा मंगलबार गरेको युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘हामी सरकार बाहिर छौं, सत्ता पक्षमा छौं तर सरकारमा छैनौं हामी। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ। हामी प्रतिष्पर्धी पनि हौं, भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस हो। हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’
केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा कांग्रेसका १० मन्त्री र दुई राज्यमन्त्री छन्। कोइरालाले अहिलेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको पनि बताए।
‘मलाई डर लागिरहेको छ, चिन्ता लागिरहेको छ यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ। संयन्त्रले सरकार चलाउने कम्युनिष्टहरूमा मात्रै हुनसक्छ। साम्यवादी देशहरूमा मात्रै संयन्त्रले देश चलाउँछ। यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ। अब वडामा बाँकी छ। वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ। लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन। कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ,’ उनले भने।
उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक भर्खर संसदमा गएको र छलफल हुन बाँकी नै रहेको बताए।
प्रतिक्रिया