अन्तर्राष्ट्रिय

Russia-Ukraine War :ट्रम्प र पुटिन मिल्दा जेलन्स्कीलाई बेलायतको साथ


सन् २०२२ को फेब्रुु्रअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्ध अझै रोकिएको छैन । अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै जारी रुस–युक्रेन युद्धविरामको बहसले विश्व राजनीति तरंगित छ । जारी युद्ध अन्त्य गर्न राष्ट्रपति ट्रम्पको सक्रियता र युक्रेन मामिलामा रुस र अमेरिकाबीच भएको सम्झौतासँगै विश्वको ध्यान यतिबेला युरोप केन्द्रित बनेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो पटक ह्वाइट हाउस प्रवेश गरे यता विश्व राजनीति तरंगित छ । गत जनवरी १९ मा पदभार ग्रहण गरे यता आफ्ना प्रत्येक निर्णय र कुटनीतिक सक्रियताले विश्वभर उथलपुथल मच्चाइरहेको ट्रम्प प्रशासनको पछिल्लो कदमले सिंगो युरोपेली मुलुकहरु तनावमा छन् । यसअघि ट्रम्पको नयाँ कर नीतिले आतंकित बनेको युरोप पछिल्लो केही दिन यता रुस–युक्रेन मामिलामा ट्रम्प र रुसको कदमले झस्किएको छ ।

केही दिन अघि आपतकालीन शिखर सम्मेलन नै घोषणा गरेका युरोपेली मुलुकका नेताहरु सोमबार फ्रान्सको पेरिसमा भेला भएका छन् । झन्डै तीन वर्षदेखि युद्धरत रुस र युक्रेनबीचको शान्तिवार्तामा युरोपेली नेताहरुसँग परामर्श लिने तर युद्ध समाप्त गर्ने विषयमा रुस र अमेरिकाबीचको वार्तामा युरोपेली मुलुकहरुलाई सहभागी नगराउने र ईयूलाई अलग राख्ने अभिव्यक्ति दिएपछि ईयूका नेताहरु सामूहिक छलफलमा जुटेका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको पहलमा जारी युरोपेली नेताहरूको शिखर सम्मेलन राष्ट्रिय सुरक्षाका हिसाबले महत्वपूर्ण हुने दावी नेताहरुको छ । बेलायतका प्रधानमन्त्री केयर स्टारमरले आफ्नो देश कुनै पनि शान्ति सम्झौता लागू गर्न युक्रेनमा सेना पठाउन तयार भएको प्रतिक्रिया दिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन युद्धलाई लिएर अमेरिका र रुस बीचको निर्णय स्वीकार्य नहुने बताउँदै आएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपको सेना गठन गर्न आह्वान गर्दै आएका छन् ।

जबरजस्ती दवाव दिएर इजरायल–हमास युद्धविराम गराएपछि हौसिएका राष्ट्रपति ट्रम्प रुस–युक्रेन युद्धविरामको एक सूत्रे एजेन्डा बनाएर अघि बढेका छन् । गएको विहीवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग बेग्ला बेग्लै डेढ घण्टा लामो फोन वार्ता गरेका ट्रम्पले यसै साता रुस–युक्रेन शान्तिवार्ताबारे छलफल गर्ने योजना बनाएका छन् । जसअन्तर्गत वरिष्ठ रुसी अधिकारी र अमेरिकी अधिकारीबीच साउदी अरबको रियादमा भेटवार्ता हुने तय भएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने यस वार्ताका लागि आफूहरुलाई आमन्त्रित नगरिएको बताएका छन् ।

ट्रम्प–पुटिनबीचको सहमति कार्यान्वयन कति सम्भव छ यसबारे थप तथ्य आगामी दिनहरुमा सार्वजनिक हुने नै छ । युक्रेन र सिंगो युरोपलाई लत्याएर ट्रम्प र पुटिनबीच रुस युक्रेन शान्तिवार्ता गर्न पक्कै पनि सहज छैन तर यसलाई असम्भव नै मान्न सकिने अवस्था पनि छैन । तीन वर्ष लामो युद्ध थेगिरहेको युक्रेन थिलथिलो भइसकेको छ । यसमा युरोपेली मुलुकहरुको भूमिका चासोपूर्ण बनेको छ । पेरिस सम्मेलनले कस्तो निष्कर्ष निकाल्छ ? यसले पनि रुस युक्रेनबीच जारी युद्धको भविष्यबारे थप निर्धारण गर्ने देखिन्छ ।