प्रतिनिधिसभा बैठक जारी छ । सोमबार बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरिन् ।
बैठकको सुरुमै समय माग गरेर उठेकी सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे । उनी चुपचाप बसिन् । सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिए ।
आकस्मिक समयमा सरस्वती बजिमय, रघुजी पन्त, रामकुमार राई, अशोक कुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सिता कुमारी राना, सूर्यबहादुर थापा, सम्झना थपलियाले आफ्ना कुरा राखे ।
यति ८ सांसदले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गर्ने बताए ।
प्रतिपक्षी बेन्चमा रहेकी सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे आफ्ना कुरा उठाउन खोजिन् ।
तर, सभामुख घिमिरेले समय दिएनन् ।‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । आसनग्रहण गर्नुस्,’ सभामुख घिमिरेले भने, ‘यहाँलाई मैले समय दिएको छैन । तपाईं आसनग्रहण गर्नुस् ।’सभामुख घिमिरेले नियमावलीप्रति ध्यानाकर्षण गराए ।
प्रतिक्रिया