नेपालमा अपराधका घटनाहरू बर्सेनि बढ्दो क्रममा रहेको देखिएको छ । चोरी, ठगी, हत्या, बलात्कार, लागुऔषध दुव्र्यसन जस्ता आपराधिक क्रियाकलापले सामाजिक सुरक्षामा गम्भीर चुनौती खडा गरिरहेको छ। बेरोजगारी, गरिबी, नैतिक पतन, कानुनी कार्यान्वयनको कमजोरी तथा प्रविधिको दुरुपयोग जस्ता कारणहरूले अपराध दर वृद्धि भइरहेको छ।संगठित तथा साइबर अपराधका घटनासमेत विकराल रुपमा बढिरहेको प्रहरीको तथ्यांकले देखाएको छ ।
पछिल्ला केही वर्षको तथ्यांकलाई हेर्न हो भने नेपालमा बर्सेनि अपराधका घटना बढ्दै गएको देखिएको छ । त्यसमा पनि पछिल्लो केही महिनाको अवधिमा घटेका घटनाले अपराधको ग्राफ ह्वात्तै उकालो लागेको देखाउँछ । विशेष गरी युवाहरूमा लागुऔषधको लत, सजिलै पैसा कमाउने लालसा र सामाजिक विकृतिले उनीहरूलाई आपराधिक गतिविधितर्फ आकर्षित गरिरहेको देखिन्छ ।
हत्या, बलात्कार, चोरी डकैती, दुव्र्यसनी, अपहरण, अनलाइन ठगी लगायतका घटनाहरु दिनहुँ जसो समाचारमा आइरहेका हुन्छन् । बढ्दो निराशा, बेचैनी, कुण्ठा, आवेश, प्रतिशोध, अज्ञानता, महत्वाकांक्षा सँगसँगै बेरोजगारीका कारणसिर्जित विविध पक्षले सुषुप्त रुपमा मानिसलाई सिर्जनशील कम र अपराध उन्मुख बढी बनाइरहेको देखिन्छ । साथै अपराधको प्रकृतिमासमेत रुपान्तरण हुँदै गएको छ ।
आउनुहोस् पछिल्लो समय घटेका केही प्रतिनिधिमूलक घटनाहरु बारे चर्चा गरौँ ।
नम्बर १.बच्चा अपहरण काण्ड
नेपालीसहित विभिन्न देशको १७ भाषा बोल्न जान्ने भियतनामी नागरिक माई होङ किन्हालौनले गत बिहीबार चेपाङ थरका चार वर्षीय एक बालकलाई अपहरण गरी होटलमा बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले उद्धार ग¥यो । साथै अपहरणकारी उनलाई पनि नियन्त्रणमा लियो । महिनौसम्म चकलेट किनेर दिँदै बालकसँग नजिक सम्बन्ध बनाएका उनले बालकलाई भारत लैजान लागेका थिए ।
प्रहरीले सीसीटीभी फुटेजको मार्फत अनुसन्धान गर्दाकिन्हालौनले बिहीबार राति ८ः४४ मा बच्चा लिएर ट्याक्सी चढेको पत्ता लाग्यो । प्रहरीले ट्याक्सीबारे बुझ्दा उनले इनड्राइभमार्फत ट्याक्सी बुक गरेको तथ्य खुल्यो । उनी पाटनको कृष्ण मन्दिरबाट ट्याक्सी चढेर ललितपुरको झम्सिखेल पुगेका थिए ।
त्यहाँबाट अर्को ट्याक्सी चढेर सुन्धारास्थित श्रीगुरू होटलमा पुगेर बसेका थिए । प्रहरीले उक्त होटलमा पुगेर सबै कुरा सोधीखोजी गर्दा त्यहाँबाट पनि किन्हालौन कलंकी पुगेको खुल्यो । उनले काठमाडौंबाट वीरगञ्ज जाने ६६१८ नम्बरको बसको ‘बी’ ३ र ४ नम्बरको सिट बुक गराएका थिए ।
प्रहरीले उक्त बसको काउन्टरमा गएर सोधपुछ ग¥यो । किन्हालौनको नम्बरमा फोन गर्दा उनले कलंकीस्थित मकालु पेट्रोलपम्प नजिक रहेको इलामेली गेष्ट हाउसमा बसेको जानकारी गराए । उक्त गेष्टहाउसमा छापा मार्दा कोठा नम्बर १०७ मा चार वर्षीय बालकलाई बन्धक बनाएर राखेको अवस्थामा फेला पा¥यो । प्रहरीले बालकको सकुशल उद्धार ग¥यो ।प्रहरीका अनुसार किन्हालौनमाथि विशेष अनुसन्धान गर्नुपर्ने देखिन्छ । उनको मोबाइलमा थुप्रै भारतीय आधारकार्डहरू फेला परेका छन् । किन्हालौनले बच्चालाई भारत लैजान खोजेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
नम्बर २.प्रेसर कुकर काण्ड
चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य एक जना इलेक्ट्रिक सामान व्यापारीलाई राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर हनी ट्र्यापमा फसाएको आरोपमा पक्राउ परेकी छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक–पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको छ ।कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै रकम असुलेको पाइएको प्रहरीले जनाएको छ ।पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
नम्बर ३. २३ भारतीय गिरोहको अनलाइन सट्टेबाजी
गत आइतबार राति काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मार्दा २३ भारतीय नागरिकलाई पक्राउ ग¥यो । उनीहरूको साथबाट प्रहरीले ८८ वटा मोबाइल र १० ल्यापटपसमेत बरामद गरेको छ । गोप्य सूचनाका आधारमास्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
अनलाइन जुवा सञ्चालकले उनीहरूलाई सो घरमा खाने र बस्ने सुविधासहित राखेका थिए । प्रारम्भिक अनुसन्धानमा यो गिरोहले हालसम्म करिब ३ अर्बको कारोबार गरेको बरामद मोबाइल र ल्यापटपबाट तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
नम्बर ५. पैसा दोब्बर बनाइदिने भन्दै ठगी
सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–७, का हनुमानी भनेर चिनिने रामबहादुर रजकलेपैसा दोब्बर बनाइदिने भन्दै करोडौं ठगी गरेको घटना बाहिरिएको छ । हनुमानीले एउटा थालमा हजारको नोट आकारको सादा कागज राख्दै एउटा झोलाबाट केमिकल भन्दै तीन वटा सानो बोतल झिक्छन्। दुई वटा बोतलबाट सेतो र एउटाबाट रातो पदार्थ कागजमा दल्छन् । अनि हजारको नोटमा टाँसेर बेरेको करिब पाँच मिनेटपछि बेरेको कागज निकालेर फेरि केमिकल दलेर पानीमा धुन्छन् रकागजलाई पैसा बनाउँछन् ।
यही चटक देखाएर दर्जनभन्दा धेरै मानिसबाट लाखौँ रकम ठग्ने महाठग रामबहादुर रजक उर्फ हनुमानीलाईपीडितहरुको जाहेरपछि गत पुस २१ गते प्रहरीले पक्राउ गरेको छ । आफूले बनाएको पैसामा विश्वास नलागे बैंकमा लगेर जाँच गर्नसमेत उनले पीडितलाई चेतावनी दिने गरेका थिए । हनुमानीलाई सघाएको आरोपमा समिना खातुन र सप्तरीका पत्रकार एवम् नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादव पनि प्रहरी हिरासतमा छन्। पत्रकार यादवमाथि पीडितहरू पैसा माग्न हनुमानीको घर जान लाग्दा उनलाई पहिल्यै खबर गरिदिने, ठगिएकाहरूलाई सञ्चारकर्मीसमक्ष जान नदिने र हनुमानीका प्रतिनिधि भएर प्रहरी–प्रशासनलाई पैसा दिने गरेको पीडितहरूको आरोप छ।
त्यसो त समाजमा घट्ने यस्ता विभिन्न अपराधका घटनामा प्रहरी प्रशासन चनाखो हुन नसकेको आरोप पनि लाग्ने गरेको छ । पछिल्लो समय हत्या, हिंसा, बलात्कार, ठगी जस्ता घटनामा वृद्धि भएको प्रहरीका पूर्वअधिकारीहरु बताउँछन् ।
नागरिकको सुरक्षामा खटिने प्रहरीमाथि नै आक्रमणका घटनासमेत बढ्दै गएका छन् । काठमाडौंको ठमेल र धनगढीमा भएको घटना पछिल्लो उदाहरण हो । अपराधका घटना बढ्नुमा राज्य संयन्त्रको कमजोरी र राजनीतिक संरक्षणलाई समेत दोषी मानिएको छ । कतिपय घटना राजनीतिक संरक्षणको आडमा हुने गरेका छन् भने ती घटनामा संलग्नलाई उन्मुक्ति दिने प्रवृत्तिले समेत अपराधलाई बढावा दिइरहेको देखिन्छ । यस्ता समस्याको समाधानका लागि कानुनी दायरालाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रणमा ध्यान दिनु आवश्यक छ। साथै, शिक्षाद्वारा नैतिक मूल्यको विकास, रोजगारीका अवसरको सिर्जना र समाजमा सचेतना अभिवृद्धि गर्न सकियो भने अपराध दरलाई न्यूनीकरण गर्न सकिने विज्ञको सुझाव छ । हरेक नागरिकले आफ्नो भूमिका निर्वाह गरी सजकता अपनाउने हो भने मात्रै शान्ति र सुव्यवस्था कायम हुन सक्छ।
प्रतिक्रिया