कांग्रेसको १५ औँ महाधिवेशन कहिले हुन्छ ? त्यो सभापति शेरबहादुर देउवालाई मात्र थाहा छ । तर, इतरपक्ष भने समयमै महाधिवेशन गराउनु पर्ने भन्दै देशव्यापी अभियानमा जुटेको छ । यस्तो अवस्थामा देउवाकै नेतृत्वले पटक पटक लाभ लिएकाहरुसमेत क्याम्प फेर्न थालेपछि देउवाले पनि अवसरवादीहरुको हिसाब खोज्न थालेका छन् ।
१५ औँ महाधिवेशनको हावा नै नचली इतरपक्षले पात हल्लाउन थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई संकटतर्फ धकेलेको छ । देउवाकै गुटमा रहेर यसअघि पटकपटक मन्त्रीदेखि उच्च पदको लाभ लिएका नेता नै शेखर कोइरालातर्फ जान खुट्टा उचाल्न थालेका छन् । कृष्ण सिटौलादेखि प्रकाशमान सिंहका गुटलाई १४ औँ महाधिवेशनमा दिएका वचन समेत इमान्दार ढंगले आफूले पूरा गरिरहेको समयमा तीनै गुटका नेता अवसरवादी बनेको बुझाइमा देउवा छन् ।
फलतः दुई वर्षयता गुटलाई प्राथमिकतामा नराखेका देउवाले एक्कासी गुटका नेतासँग छलफल चलाएका छन् । गुट फेर्न लागेका बालकृष्ण खाँण, एनपी साउद लगायत नेतासँग बुढानीलकण्ठमा झण्दै साढे दुई घण्टा छलफल गरेका देउवाले विरासतको ख्याल गरेर मात्र आगामी महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका छन् । अर्थात, देउवाकै खेमामा रहेर पटक पटक लाभ लिएको विषय बिर्सिएर गुट नफेर्न घुमाउरो पारामा चेतावनीको भाषा बोलेका छन् ।
१५ औँ महाधिवेशनमा देउवाको दाबेदारी नहुने र उनले विश्राम लिने भएपछि उनीहरु शेखर गुटमा लागेका छन् । अर्थात त्यहाँ गए अवसर पाइने बुुझाइमा उनीहरु पुगेका छन् । तर, देउवाले आफ्ना केही स्वार्थ पूरा गर्न बाँकी नै रहेकाले आफू सभापति नउठे पनि गुट भने कमजोर नहोस् भन्ने चाहेका छन् । खास गरी अहिले झण्डै आधा दर्जन प्रभावशाली नेताले देउवाको साथ छाडेका छन् । उनीहरुले डा. शेखर कोइराला, गगन थापा, पूर्णबहादुर खड्कामध्ये जसले बढी प्रभाव देखाउँछन् उसैको गुट रोज्न थालेका छन् ।
यसको पहिलो नम्बरमा छन् एनपी साउद । देउवाकै कार्यकालमा परराष्ट्र मन्त्रीसमेत बनेका उनी शेखर गुटमा खुलेरै लागेका छन् भने सरकार र पार्टी नेतृत्वको आलोचना गर्न थालेका छन् । अर्कोतर्फ रमेश लेखक देउवाका भित्रिया बन्दा आफूलाई असुरक्षित महसुस गरेका कारण पनि साउद शेखर गुटमा गए लाभ हुने बुझाइमा छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका बालकृष्ण खाणले पनि देउवा गुट फेरेर शेखरतिर लागेका छन् । जेलमा रहँदा देउवाले बचाउन भूमिका नखेलेको भन्दै असन्तुष्ट उनी शेखर पटकपटक भेट्नै गइरहने भएकाले उनीप्रति नजिक भएको नेताहरु बताउँछन् । कांग्रेस सरकारमै भएका बेला पक्राउ पर्नुले समेत देउवासँग उनी बिच्किएका छन् । सहमहामन्त्री भिष्मराज आङ्देम्बेसमेत देउवा सभापति भएसम्म उनकै पक्षमा रहने तर १५ औँ महाधिवेशनमा गुट फर्ने लाइनमा पुगेका छन् । खाँण र आङ्देम्बेको जोडी नै बनेको नेताहरु बताउँछन् । यतिमात्र नभई सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ समेत इतर पक्षको सम्पर्कमा पुगिरहेकी छन् ।
उनी एनपी साउदसँगै इतर पक्षका भेलामा देखिन थालेकी छन् । देउवाका दायाँ हात भनेर चिनिने मोहनबहादुर बस्नेतसहित १४ औँ महाधिवेशनमा साथ दिएका विमलेन्द्र निधिसमेत इतर पक्षतिर लागेका छन् । देउवाकै आडमा नेविसंघको अध्यक्ष तथा केन्द्रीय सदस्य बनेका नैनसिंह महर पनि इतर गुटमै अघि बढेका छन् । खासगरी गगन थापाले शेखरको गुट छाड्दा देउवाको पक्षबाट अवसर नपाइने भएपछि उनीहरु शेखरतर्फ गएका हुन् । सरकार पक्षमा बलियो खम्बा बनेका गगनलाई गुट फेरेपछि शेखर पक्षले उनको अहमताका रुपमा ब्याख्या गर्दै नेता तान्ने कसरत गरिरहेको छ ।
ंयतिमात्र नभई देउवा र आरजु राणाका विश्वासपात्र मानिने पटकपटक समानुपातिक सांसद र मन्त्री बनेका डा. प्रकाशशरण महत पनि बिच्किएका छन् । देउवाको क्याम्पमा छिरेपछि शेखरले गगन थापालाई समेत फकाउन न्यूट्रल रहेका गोविन्द पोखरेललाई परिचालन गरेको बुझिन्छ । तर, गगन भने जहाँ आफू उभिन्छु त्यहीँबाट लाइन सुरु हुन्छ भन्दै शेखरलाई सभापतिमा समर्थन नगर्ने संकेत देखाइसकेका छन् । यस्तो अवस्थामा गगनका ससुरा अर्जुनरसिंह केसीलाई कुन गुटमा बस्ने भन्नेमा रनभुल्ल पारिदिएको छ ।
अहिलेको अवस्था हेर्दा आगामी महाधिवेशनमा शेखर र गगन नै सभापतिको मुख्य प्रतिस्पर्धी बन्ने निश्चित छ । जो १४ औँ महाधिवेशनमा एउटै गुटमा थिए । अहिले यी दुबै नेता नै फरक गुटमा रहेपछि देउवा पक्षका नेता तान्ने होड चलेको छ । गगन पनि पूर्णतया देउवाको भर परेका छैनन् । परम्परागत कुनै पनि गुट नरहने भएपछि उनले पनि छुट्टै गुट बनाइरहेका छन् । जहाँ विश्वप्रकाश शर्मा, प्रदीप पौडेलदेखि, बागमति प्रदेश सभापति इन्द्र बानियाँसम्म सक्रिय रहँदा देउवा गुटका पूर्णबहादुुर खड्कालाई तान्नेसम्मको प्रयास भइरहेको छ । शेखरले गगनलाई गाली गरेर देउवाका नेता तान्दा गगनले देउवाको उत्तराधिकारी नै आफू रहेको भन्दै उनका नेता तानिरहेका छन् । माघमा पोखरामा भएको कार्यकर्ता भेलायता अब जातीय गुट सल्बलाउने चर्चाले समेत बजार तताएको छ ।
हुन त विधानतः पार्टीको महाधिवेशन निर्धारित समयमै भए २०८२ मंसिरमा भइसक्नु पर्नेछ । सभापति देउवाले विधानले नै दिएको अधिकार प्रयोग गरी एक वर्ष धकेल्ने सम्भावना उच्च छ । विशेष कारण देखाएर ६ महिना थप धकल्ने र ०८४ को चुनावमा आफैँ टिकट बाँडेर प्रभुत्व जमाउने मूडमा देउवा देखिएका छन् । यसैकारण उनले गुट नछाड्न र त्यसो गरे देखाइदिने चेतावनी दिँदा गगनले भने निर्धारित समयमै महाधिवेशन हुनुपर्ने र ०८४ को चुनाव कांग्रेसको नयाँ नेतृत्वले गर्ने र टिकट आफ्नो हातमा रहेको भन्दै नेता कार्यकर्तालाई घुक्र्याकाउन खेजिरहेका छन् । तर, अहिलेसम्म देउवाले भने उत्तराधिकारीबारे केही बोलेका छैनन् ।
उत्तराधिकारीकै रुपमा ब्याख्या हुने जोखिमका कारण देउवाले संसदीय दलको उपनेता समेत नछान्दा नेता जोगाउन र तान्न नेताहरुको रस्साकस्सी सुरु भएको छ । संस्थापन पक्षले समेत मिति घोषणा नगरी महाधिवेशन केन्द्रित मिसन सुरु गरेको छ ।
प्रतिक्रिया