अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन् । भेटका क्रममा दुई नेताबीच पारस्परिक कर रुस–युक्रेनबीचको युद्ध, बङ्गलादेशको राजनीति, अवैध आप्रवासीलाई आफ्नो देश फिर्ता पठाउनसहितका विषयमा छलफल भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तामा दुई देशको व्यापार सम्बन्धदेखि तेस्रो मुलुकको विषयसम्म छलफल भएको छ ।
दुई नेताबीच व्यापार, कर, रक्षा र ऊर्जा लगायतका विषयमा द्विपक्षीय वार्ता भएको हो । वार्तापछि दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेका छन् । भारत र अमेरिकाले २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर पारेर ५०० अर्ब डलर पु¥याउने लक्ष्य राखेका हुन् । स्थानीय समय अनुसार बिहीबार भएको भेटवार्तापछि संयुक्त पत्रकार सम्मलेन गर्दै यस विषयमा जानकारी दिएका हुन् । वार्तामा भारत र अमेरिका एक पारस्परिक राष्ट्र भएकाले भारतले जति नै शुल्क अमेरिकाले पनि लगाउने ट्रम्पले बताएका छन् ।
भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० बिलियन डलर रहेको बताएका ट्रम्पले पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरुका लागि अझ निष्पक्ष छलफल भएको बताएका छन् । संयुक्त पत्रकार सम्मेलनमा मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई फिर्ता लैजाने बारे पनि छलफल भएको जानकारी दिएका छन् ।
यस विषयमा मोदी र आफ्नो विचार एउटै भएको र अमेरिकामा कुनै पनि भारतीय अवैध रूपमा बसोबास गरिरहेको पुष्टि भएमा उनीहरूलाई भारत लैजान आफूहरु पूर्ण रूपमा तयार रहेको मोदीले बताएका हुन् । दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले अवैध आप्रवासीहरूलाई समातेर धमाधम सम्बन्धित देश पठाउने कार्यलाई तिव्रता दिएका छन् । ट्रम्प प्रशासनले हालै आफ्नो सैन्य विमानमार्फत कागजात नभएका १०४ भारतीय नागरिकलाई हात र खुट्टामा हतकडी र नेल लगाएर डिपोर्ट गरेको थियो ।
ट्रम्प र मोदीको छलफलमा रुस र युक्रेनबीच चलिरहेको युद्धले पनि प्राथमिकता पाएको छ । दुई देशबीच चलिरहेको युद्ध अन्त्य गर्न राष्ट्रपति ट्रम्पको प्रयासको प्रशंसा गरेका मोदीले रुस–युक्रेन द्वन्द्वमा भारत तटस्थ रहेको भनेर गलत प्रचार भएको टिप्पणी गरे । भारत शान्तिको पक्षमा रहेको र आफूहरूले सधैँ युक्रेन र रुसले वार्ता गर्नुपर्नेछ भनेर भनिरहेको स्पष्ट पारे । यता ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनमा अमेरिकाको कुनै भूमिका नरहेको पनि स्पष्ट पारेका छन् ।
ट्रम्पले नागरिक आणविक ऊर्जा क्षेत्रमा भारत–अमेरिका सहयोगमा सकारात्मक प्रगति भएको पनि बताएका छन् । अमेरिकी आणविक उद्योगले ठूलो उपलब्धि हासिल गरिरहँदा भारतले अमेरिकी आणविक प्रविधिलाई भारतीय बजारमा स्थान दिनका लागि नियममा सुधार गरिरहेको भन्दै ट्रम्पले भारतलाई एफ–३५ स्टेल्थ लडाकु विमान उपलब्ध गराउने बाटो खोजिरहेको बताएका छन् । ३५ फाइटर जेटलाई संसारको सबैभन्दा आधुनिक र शक्तिशाली लडाकु विमान मानिन्छ । ट्रम्पले सन् २००८ को नोभेम्बर २६ मा मुम्बईमा भएको आक्रमणका योजनाकार तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणासमेत गरेका छन् । मोदीले ट्रम्पलाई भेटवार्ताका क्रममा भारत भ्रमणको निम्तोसमेत दिएका छन् । नयाँ दिल्लीमा हुन क्वाड नेताहरुको शिखर सम्मेलनका लागि ट्रम्पलाई मोदीले निम्तो दिएको भारतीय विदेश सचिव विक्रम मिश्रीले जानकारी दिएका छन् ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले डलर खर्बपति एवं ट्रम्प प्रशासनको सरकार दक्षता विभाग प्रमुख रहेका एलम मस्क र उनको परिवारसँगसमेत भेटवार्ता गरेका थिए । फ्रान्सको पेरिसबाट सिधै अमेरिका ओर्लिएका मोदी दुई दिने भ्रमण सकाएर दिल्ली प्रस्थान गरेका छन् । मोदीको अमेरिका भ्रमण उपलब्धिमुलक भएको र यसले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै विश्व राजनीतिमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया