राजनीति

बाबुराम अधिवेशन लफडाको अन्तर्य, मानुसी बोक्दा कार्यकर्ता फायर


जनयुद्धताका र शान्ति सम्झौतामा आइसकेपछि पनि शिक्षित र पढे लेखेका वर्गहरूलाई राजनीतिमा आकर्षित गरेका डा. बाबुराम भट्टराईं अहिले परिवारवादमा अल्झिएका छन् । अर्थमन्त्री भइसकेपछि प्रधानमन्त्रीसमेत हुनु पर्छ भनेर कुनै समय उनको पक्षमा आवाज उठ्ने गरेकोमा अहिले उनको विरोधमा आवाज उठ्न थालेको छ ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । काठमाडौंमा पाँच दिनसम्म चलेको महाधिवेशनले भट्टराईलाई अध्यक्षमा निर्वाचित गरेको हो । तर, पहिलो महाविधेशन नै विवादित बन्न पुगेको छ । आफूलाई वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आएको नेपाल समाजवादी पार्टीको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रममै लफडा प¥यो । जसलाई सम्हाल्न भट्टराई परिवारसहित कार्यसमितिका अन्य पदाधिकरीहरूलाई हम्मेहम्मे परेको थियो ।

खासमा नयाँ नेतृत्व चयनका लागि माघ २७ गतेदेखि सुरु भएको पार्टीको प्रथम महाधिवेशन २९ गते टुङ्गिनु पर्ने थियो । तर दुई दिन ढिला गरी निर्वाचन समितिले बिहीबार निर्वाचित पदाधिकारीहरूको मात्र नाम सार्वजनिक गरेपछि निर्वाचित केन्द्रीय सदस्य टीकाराम पौडेलले आफ्नो नाम वाचन नगरेको भन्दै लफडा गरेका थिए । पदाधिकारीको शपथ ग्रहणपछि केन्द्रीय सदस्यको नाम वाचन गर्ने भनिए पनि बुझाइमा समस्या हुँदा उनले असन्तुष्टि पोखेका हुन् ।

पदाधिकारीमा ११ पद रहेको पार्टीमा महिलातर्फ मानुषी यमी भट्टराई र दलिततर्फ दुर्गा सोब उपाध्यक्षको कोटामा निर्विरोध हुँदा अध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । अब माओवादी काम लाग्दैन भन्दै नयाँ विकल्प बन्छु भनेर नयाँ शक्तिलाई स्थापित गर्न हिँडेका बाबुरामको पुरानो ओझ भने घटेको छ । माओवादीपछि विभित्र दलमा आबद्ध भएर त्यसलाई पनि निरन्तरता दिन चुकेका बाबुरामको नयाँ शक्तिमा निर्वाचित पदाधिकारीलाई शपथ खुवाउने क्रममा देखिएको विवादले उनको यो वैकल्पिक धारलाई पनि रमिता बनाएको छ ।

बाबुराममाथि पछिल्लो समय परिवारवादमा झुकाव राखेको आरोप पनि लाग्ने गरेको छ । छोरी मानुषी यमी भट्टराईलाई संसद्मा प्रवेश गराउन प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र त्याग गरेका बाबुराम परिवारका सदस्यलाई राजनीतिमा स्थापित गराउन हरसम्भव जुटेका देखिन्छन् ।

यो महाधिवेशनको उपलब्धि पनि छोरीलाई पार्टीको उपाध्यक्ष बनाउनमै सीमित बनेको टिप्पणी भइरहेको छ । तर, आफू उपाध्यक्षमा निर्विरोध हुँदा पिता बाबुराम भट्टराईलाई परिवारवादको आरोप लगाउनु नाजायज हुने मानुषीको तर्क छ । आफ्नो २० वर्षे राजनीतिक यात्रालाई अन्देखा गरिनु न्यायोचित नहुने उनको धारणा छ ।

माओवादीले सशस्त्र युद्ध सुरु गर्दा नै पीएजडी गरिसकेका बाबुरामको बुद्धिजीविहरूमा बेग्लै ब्राण्ड थियो । जसका कारण पढे लेखेकाहरू समेत उनकै सैद्धान्तिक धार पच्छ्याउँदै सशस्त्र युद्धका लागि बन्दुक बोक्न तयार भएका थिए । त्यतिमात्रै नभई शान्ति स्थापनापछि पनि बाबुराम अर्थमन्त्री र प्रधानमन्त्री हुँदा उनीमाथि आशा गर्ने र उनको कामको तारिफ गर्नेहरु कम थिएनन् ।

मुमाराम खनाल, प्रशान्त सिंह जस्ता व्यक्तिसमेत बाबुरामको पछि लाग्दा अभिनेत्री करिश्मा मानन्धरसमेत बाबुरामको साथमा उभिएकी थिइन् । तर, पहिलो संविधान सभाले निर्धारित मितिमा संविधान निर्माणको कार्यभार पूरा नगर्दा दोस्रो संविधान सभाको निर्वाचन गर्नु परेको थियो ।

पहिलो संविधान सभा भंग भइ दोस्रो संविधान सभाको निर्वाचन हुनु पूर्व प्रधानमन्त्रीको कुर्सीमा रहेका भट्टराईले दलहरूलाई सत्ता हस्तान्तरण नगरी तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ताको साँचो सुम्पिएपछि उनको राजनीतिक यात्रा ओरालो लाग्न सुरु भएको थियो ।

तत्कालीन माओवादी आन्दोलनको एजेन्डा प्रचण्ड नेतृत्वबाट स्थापित नहुने भन्दै माओवादीबाट अलग भएका भट्टराई नयाँ शक्ति हुँदै नेपाल समाजवादीसम्म आइपुगेका छन् । तर, यहाँसम्म आइपुग्दा पनि उनको राजनीतिक सङ्कट टर्न सकेको छैन । जसले गर्दा विगतमा देशकै प्रभावशाली र बौद्धिक नेताका रुपमा आफ्नो छवि स्थापित गरेका भट्टराईको राजनीतिक भविष्य भने अन्योलको भूमरीमा रुमलिरहेको छ ।