Uncategorized

रास्वपा–माओवादी आक्रामक, रामहरिले रवि बद्नाम भनेपछि बैठकमा लफडा


आजको प्रतिनिधिसभा बैठक सुरु भएसँगै सांसदहरुबीच चर्काचर्कीको अवस्था देखियो । बैठकमा रास्वपाले कार्यशैलीमा असन्तुष्टि राख्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग ग¥यो । यस्तै, सत्तापक्षका सांसदको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले अवरोध गर्दा संसद बैठक डेढ घण्टा स्थगित भयो ।

मङगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले अवरोध गर्दा करिब डेढ घण्टा स्थगित भयो । हिउँदे अधिवेशनको छैटौँ बैठक जारी रहँदा बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानाले सत्तारुढ नेपाली कांग्रेसका सांसदलाई बोल्न समय दिएको विषयमा प्रतिपक्षी रास्वपाले नियमापत्ति जनाउँदै विरोधमा उत्रिएपछि केही समय बैठक स्थगित हुन पुगेको हो । रास्वपा सांसद उठेर निरन्तर विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत बोल्न समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाएका थिए । उनले सांसद रामहरि खतिवडालको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने अडान राखे । उपसभामुख रानाले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिए पनि माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहे । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा बैठक नियमावली अनुसार नचलिरहेको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

कांग्रेस सांसद खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित गर्दै अभिव्यक्ति दिएका थिए । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने सुन्नमा आएको उल्लेख गर्दै उनले आईजीपीलाई संसदीय समिति बैठकमा बोलाएर निर्दोष छ भन्दिन भन्दै कानेखुसी गरेको सुनिएको र प्रहरीमा एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई पदोन्नति गरिएको लगायत आरोप लगाउँदै लामिछानेप्रति कटाक्ष गरेका थिए । साथै प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्ना मान्छे लाने काम भएको भनेर उनले यसको पनि जवाफ खोजिनुपर्ने उल्लेख गरे ।

यस्तै मंगलबारको बैठकमा भ्रष्टाचार विधेयक कार्यसूचीमा नराखिएपछि संसद्मा चर्काचर्की भएको थियो । संसदको कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएकोमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए । सरकार कार्यव्यवस्था परामर्श समितिले तोकेको कार्यसूची विपरीत गएको भन्दै उनले सरकारले संसदलाई मिनीमाइज र अपहेलना गरिरहेको आरोप लगाए ।

मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो । तर अन्तिम समयमा आएर उक्त विधेयक कार्यसूचीबाट हटाएपछि विरोध भएको हो । बैठक सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको सवाल जवाफपछि सहज ढंगले चल्न सकेन । शून्य समय, आकस्मिक समय र विशेष समयबारे सांसदहरूबीचको विवादका कारण बैठकमा चर्काचर्कीको अवस्था आएको हो । रास्वपाका सांसदले गृहमन्त्री रमेश लेखकको कार्यसम्पादनलाई लिएर असन्तुष्टि जनाए । दलितका अधिकार दुरुपयोग गरेको प्रहरीमाथि कुटपिट लगायतका विषयमा रास्वपाले गृहमन्त्रीमाथि असन्तुष्टि पोख्दै राजीनामा माग गरेको हो ।

करिब डेढ घण्टाको अवरोध पछि सुरु भएको बैठकमा आरोपप्रत्यारोपको श्रृंखला भने जारी रह्यो । सत्तापक्षमाथि प्रतिपक्षको आरोपकाबीच क्यान्टोनमेनमा माओवादीले घोटाला गरेका विषय उठाउँदै एमाले खनियो । एमाले सांसद ईश्वरबहादुर रिजालले क्यान्टोनमेनमा घोटाला नभएको कुरा प्रमुख प्रतिपक्षी दलको नेताको बोलीबाट विश्वास गर्न नसकिने भन्दै आफ्ना लडाकुहरुलाई राज्यले पैसा दिने र त्यसको केही खर्च राखेर अरु विद्रोहका लागि राख्नु भनेर बोल्ने कुराले भ्रष्टाचार भएको पुष्टि हुने जिकिर गरे । माओवादीको जिम्मेवार व्यक्तिबाट चीनका व्यापारीसँग पैसा मागेको कुरा पनि सुनिएको भन्दै नेताहरु चोखो नरहेको उनको आरोप थियो ।

संसदको हिउँदे अधिवेशन चलिरहँदा सदनमा जनजीविकाका सवालभन्दा दलीय आरोपप्रत्यारोपमै सांसदहरु व्यस्त देखिएका छन् । यसअघिका अधिवेशनमा जस्तै सत्ता र प्रतिपक्षबीच चलेको विवादले कानुन निर्माणका विषय, पास हुन बाँकी विधेयक तथा अध्यादेश लगायत जनसरोकारका विषय भने ओझेलमा परिरहेका छन् ।