दुई शताब्दीभन्दा लामो नेपालसँगको कूटनीतिक सम्बन्ध रहेको बेलायतका राजकुमार दम्पती हाल नेपाल भ्रमणमा छन् । नेपाल भ्रमणमा पहिलोपटक आएका उनीहरूले ६ दिवसीय भ्रमणका क्रममा चार दिन बिताइसक्दा कहाँ कहाँको भ्रमण गरे त ?
संयुक्त अधिराज्य बेलायतका राजकुमार एडिनब्राका ड्यूक एड्वर्ड दम्पती चार दिनदेखि नेपाल भ्रमणमा छन् । ६ दिनका लागि गत मङ्गलबार नेपाल भ्रमणमा आएका एड्वर्ड र राजकुमारी डचेस सोफीले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका थिए ।
२२ गते शीतल निवासमा भएको शिष्टाचार भेटमा जलवायु परिवर्तनका विषयमा उनीहरुबीच कुराकानी भएको थियो । अनौपचारिक शिक्षा र सिकाइ फ्रेमवर्क (जुन) युवाहरूलाई आफ्नो उद्देश्य, स्थान र जोश खोज्न सहयोग गर्न उनका बुबा स्वर्गीय राजा फिलिपद्वारा स्थापना गरिएको पुरस्कार ‘ड्युक अफ एडिनबर्ग’ अवार्ड कार्यक्रममा अन्तरराष्ट्रिय पुरस्कारबाट लाभान्वित हुने युवाहरूलाई सम्मान गर्दै बुधबारको दिन सुरु गरेका थिए ।
यसै दिन राजकुमारी डचेसले भक्तपुर अस्पतालको प्रसूति शाखाको भ्रमण गर्दै स्वास्थ्यकर्मी, नयाँ आमाहरू र स्वयंसेवकहरूलाई भेटे । बेलायतको सहयोगबाट मातृ स्वास्थ्य र नवजात शिशुको हेरचाहको क्षेत्रमा भइरहेको प्रगतिबारे पनि जानकारी लिएकी उनी माइती नेपालमा समेत पुगिन् । राजकुमार दम्पतीले बुधबार नै कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’को पनि अवलोकन गरे । उनीहरूले भक्तपुरको भ्रमण गरी त्यहाँको कला, संस्कृतिको अवलोकन गर्दै काठमा बुट्टासमेत खोपेका थिए ।
बिहीबार गोदावरीको फुल्चोकीस्थित अन्तरराष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (ईसिमोड)को ‘लिभिङ माउण्टेन ल्याब’को अवलोकन गरे ।
३९ वर्ष अघि बेलायतकी महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले रोपेको दुईवटा ‘पुँवाले’का रुख राम्रोसँगै हुर्काएकोमा खुशी व्यक्त गरेकी सोफीले उद्यानको मुख्य प्रवेशद्वार परिसरमा ‘लालीगुँरास’को विरुवा रोपिन् । बिहीबार नै पोखरा उड्नु अघि उनीहरूले पूर्व गोर्खा सैनिक र विधवाहरूसँग भेटघाट गरेका थिए ।
गोर्खा सैनिकको १५० जनाको डफ्फालाई शपथ खुवाउन पोखरा उडेका दम्पतीलाई पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गरेका थिए । बिहीबार नै बेगनास ताल पुगेका उनीहरू अहिलेका बेलायतका राजा अर्थात् एड्वर्डका दाई चाल्र्सले ४४ वर्षअघि गरेको पोखरा यात्रापछि कर्णेल जिमी रोवर्टले बेगनासको डाँडामा बनाएको चर्चित टाइगर माउन्टेनमै बास बसेका थिए । उनीहरू शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने लुम्ले क्षेत्रको पदयात्रासँगै चर्चित गुरुङ गाउँ घान्दु्रक पुगेका थिए ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी बितिसक्दा यो भ्रमण बेलायती शाही परिवारका सदस्यहरूबाट भएको चौधौँ नेपाल भ्रमण हो । सन् १८१६ मा सुगौली सन्धि भई नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि २०७२ सालमा बेलायतका राजकुमार ह्यारी बर्दिया, लमजुङ र पोखराको भ्रमणमा आएका थिए । यसैगरी तत्कालीन राजकुमार चाल्र्स, युवराज्ञी डायना र राजकुमार फिलिपले पनि नेपालको भ्रमण गरेका थिए ।
महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, तत्कालीन वेल्सका राजकुमार अर्थात् हालका राजा चाल्र्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गरेका थिए । अहिले नेपाल भ्रमणमा आएका प्रिन्स एड्वर्ड, बेलायतकी महारानी एलिजाबेथ द्वितीया र प्रिन्स फिलिपका कान्छो सन्तान हुन् । उनी अहिले बेलायतको राजगद्दीको उत्तराधिकारीमा १४ औं स्थानमा छन् ।
प्रतिक्रिया