काठमाडौँ – २४औं आहारारा पोखरा गोल्डकपको दोस्रो प्रि-क्वाटरफाइनल खेलमा बुधबार मच्छिन्द्र एफसी र विभागीय टोली एपीएफ एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।
चर्चित खेलाडीहरु टिममा राखेर पनि अहिलेसम्म आहारारा पोखरा गोल्डकप जित्न नसकेको मच्छिन्द्र विजयी सुरूवात गर्ने लक्ष्यमा हुनेछ । केही दिनअघि काठमाडौंमा भएको सभापति कप फुटबलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जहाँ मछिन्द्रले एपीएफलाई १-० ले हराएर सेमिफाइनल पुगेको थियो ।
त्यस खेलमा मच्छिन्द्रका सनिश श्रेष्ठले गोल गरेका थिए । सनिशलाई सहारा क्लबले यस वर्ष सहारा सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट २४औं संस्करणको उद्घाटनको अवसरमा सम्मान समेत गरेको थियो ।
गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्रमा मनिष डाँगी, आयुष घलान, सनिश श्रेष्ठ, विमल घर्ती मगर, देवेन्द्र तामाङ, छिरिङ गुरुङजस्ता खेलाडी छन् ।
मछिन्द्रमा नाम चलेका खेलाडीहरू भएपनि त्यस अनुसारको प्रदर्शन पोखरामा देखिएको छैन । उता एपीएफमा राष्ट्रिय टिमबाट खेलिसकेका मणि कुमार लामा मुख्य खेलाडीको रुपमा छन् । एपीएफमा सँगै खेलेका खेलाडीहरु भएकोले टिम सन्तुलन राम्रो देखिएको छ ।
प्रतिक्रिया