अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच मंगलबार दुईपक्षीय भेटवार्ता हुँदैछ । राष्ट्रपति पद सम्हालेपछि हुन लागेको ट्रम्पको यो पहिलो कुटनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ । इजरायल–गाजा युद्धविरामपछि बन्धक रिहाइ जारी रहेका बेला ट्रम्प र नेतान्याहुबीचको दुईपक्षीय भेटवार्ताले विश्वको ध्यान तानेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच दुईपक्षीय कुटनीतिक भेटवार्ता हुँदैछ । ट्रम्पको निमन्त्रणामा आइतबार अमेरिका ओर्लिएका नेतन्याहुलाई संयुक्त राष्ट्र संघका लागि इजरायली राजदूत ड्यानी डेनन लगायत इजरायली अधिकारीहरूले स्वागत गरेका थिए । ट्रम्प र नेतान्याहुबीच नेपाली समयअनुसार मंगलबार राति दुई पक्षीय भेटवार्ता हुन लागेको हो । हमासविरुद्ध १५ महिना युद्ध लडेका प्रधानमन्त्री नेतान्याहुले इजरायल–गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता भएको १७ औँ दिनमा ट्रम्पसँग भेट्न लागेका हुन् । पदभार ग्रहण गर्नुअघि युद्धविराम हुनुपर्ने ट्रम्पको दवावकै कारण अमेरिका र कतारको मध्यस्थतामा गत जनवरी १६ मा दोहामा इजरायल, हमास, अमेरिका र कतारका अधिकारीहरूले युद्धविराम तथा बन्धक रिहाइ सम्बन्धी सम्झौतामा औपचारिक हस्ताक्षर गरेका थिए ।
जनवरी १९ मा इजरायलको मन्त्रिपरिषदले इजरायल–हमासबीच भएको युद्धविराम र बन्धकहरुको रिहाइ सम्बन्धी सम्झौता प्रस्ताव पारित गरेको थियो । सोही सम्झौता अनुरुप अहिले धमाधम बन्धक रिहाइको काम भइरहेको छ । ट्रम्प–नेतन्याहु भेटमा मुख्यतः गाजा युद्धविराम सम्झौता र गाजामा बन्धक रहेकाहरुको रिहाइसँगै इरान मामिला र मध्यपूर्वका अन्य मुलुकहरुबारे पनि छलफल हुने बुझिएको छ । ट्रम्पको पहिलो कार्यकालमा नेतन्याहुसँग राम्रो सम्बन्ध रहेको मानिन्छ ।
दोस्रो पटक चुनाव लड्दा ट्रम्प पराजित भएपछि जो बाइडेनलाई बधाई दिएकै कारण ट्रम्प र नेतन्याहुबीचको सम्बन्धमा खटपट आएको चर्चासमेत हुने गरेको छ । अमेरिकाको ४७ औँ राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पको यो पहिलो दुईपक्षीय कुटनीतिक भेटवार्ता हो ।
राष्ट्रपतिको पदभार ग्रहणसँगै राष्ट्रपति ट्रम्पको एकपछि अर्को निर्णय विवादित बन्दै गएका बेला पदभार सम्हाल्नुपूर्व नै इजरायल–गाजा युद्धविराममा उनले खेलेको भूमिकाको चर्चा हुने गरेको छ । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्न ट्रम्पको सक्रियता महत्वपूर्ण रहने अपेक्षा गरिएको छ । इजरायल–गाजा युद्धविरामसँगै रुस–युक्रेन युद्धविरामका लागि पनि ट्रम्पले ताकेता गरिरहेका छन् ।
यसैबीच रुस–युक्रेन युद्ध अन्त्यका लागि पहल गरिरहेका ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न चाहेको बताएका छन् । यसका लागि मोदी फेब्रुअरी २२ देखि अमेरिकाको दुई दिने भ्रमणमा जाने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आफ्नो दुई दिने पेरिस भ्रमण सकाएर मोदीले वासिङ्टन डीसीको यात्रा गर्नेछन् । जनवरी २७ मा दुई नेताबीच टेलिफोन वार्तासमेत भएको थियो ।
न्यानो र मैत्रीपूर्ण सम्बन्ध रहेका दुई नेताबीच अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउने विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ । साथै विभिन्न वैश्विक मुद्दाहरुमा अमेरिका र भारत एकजुट हुने देखिन्छ । साथै अमेरिकी उत्पादनहरुमा भारतको उच्च शुल्कलाई उद्धृत गर्दै ट्रम्पले विगतमा धम्की दिएको शुल्कबाट बच्न पनि भारत उत्सुक रहेको रोयटर्सले उल्लेख गरेको छ ।।
प्रतिक्रिया