सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सिंगो कांग्रेस पर्यटकीय नगरी पोखरामा भेला भएका छन् । सातै प्रदेश र ७७ वटै जिल्लाका सभापति–उपसभापतिका साथै प्रशिक्षण शाखाका प्रमुखहरुलाई पोखरामा जम्मा गरेर संगठन र समसामयिक सन्दर्भमा प्रशिक्षण दिइरहेको छ ।
सत्तामै रहेर सरकारप्रति बढ्दो असन्तुष्टि, पार्टीको १५ औं महाधिवेशन २०८२ मा कि ८४ को चुनावपछि ? भन्ने बहस चुलिएका बेला भएको कांग्रेसीहरुको जमघटमा के के हुँदैछ त ?
सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि प्रदेश र जिल्ला सभापति तथा उपसभापतिहरुको अभिमुखीकरण कार्यक्रम थालेको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाका साथै पार्टीका नेताहरु पर्यटकीय नगरी पोखरामा भेला भएका छन् । सातै प्रदेशका पार्टी सभापति, प्रदेश प्रशिक्षण विभाग प्रमुखका साथै ७७ वटै जिल्लाका सभापति तथा उपसभापतिहरुलाई कांग्रेसले प्रशिक्षित गरेको हो ।
यसका लागि सभापति देउवाका साथै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, डिना उपाध्याय, प्रवक्ता डाक्टर प्रकाशशरण महतसहितका नेताहरु पोखरा पुगेका हुन् । पार्टीको पदाधिकारीदेखि विज्ञहरुको टोली बोकेर पोखरा पुगेका कांग्रेस सभापति आफैँ यो पटक फिल्डमा उत्रिएका छन् । गृहजिल्ला डडेल्धुराबाहेक खासै अन्त नजर लगाउने चेष्टासमेत नगरेका देउवा यो पटक चार दिन पोखरामा रहने भएका छन् ।
सोमबार प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखहरुका लागि संगठन र समसामयिकत सन्दर्भमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको कांग्रेसले मंगलबार र बुधबार ७७ जिल्लाका सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदैछ । देशकै ठुलो पार्टी कांग्रेसका नेता कार्यकर्ता पार्टी रुपान्तरणका लागि भन्दै पोखरामा अबको रणनीति, पार्टीको आन्तरिक जीवन, सत्ता गठबन्धन र सरकारको कामको समीक्षा लगायतका विषयमा बृहत्त बहस गरिरहेका छन् ।
२०७८ मंसिरमा पार्टीको १४ औं महाधिवेशन र २०८० फागुनमा गोदावरीमा बसेको महासमिति बैठकपछि जारी कांग्रेसीहरुको यो जमघटलाई अर्थपूर्ण मानिएको छ । पार्टी सत्तामा रहेर पनि संगठनको आन्तरिक जीवनमा अपेक्षाकृत लाभ उठाउन चुकेको कांग्रेस अहिले जिल्ला र प्रदेशको नेतृत्वलाई प्रशिक्षण दिएर उर्जा प्रवाह गर्ने रणनीतिमा जुटेको देखिन्छ ।
पोखरामा जारी अभिमुखीकरण कार्यक्रममा कतिपय नेताले २०४६ सालपछि पार्टी बिग्रिँदै गएको टिप्पणीसमेत गरेका छन् । कार्यक्रमको बन्दसत्रमा कार्यपत्र प्रस्तुत गर्ने क्रममा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले त्याग, निष्ठा, आदर्श र सेवामा समर्पित राजनीति अहिले पेशा र व्यवसायमा परिणत भएको बताएका छन् । यस्तै अभिमुखीकरणमा सहभागीहरुलाई हरेकले पाँच नयाँ साथी बनाउने र २ जनालाई रुखमा भोट हाल्न लगाउने गरी भूमिका खेल्न विज्ञले सुझाएका छन् ।
गृहजिल्ला फर्किएपछि जिल्ला सभापति र उपसभापतिलाई पाँच महिनामा नयाँ पाँच साथी बनाउन र कम्तिमा दुई जनालाई रुखमा भोट हाल्न लगाउन सुझाव दिइएको हो । पार्टीगत रुपमा जनतासँग जोडिन समुदायमा कांग्रेस, जनतासँग कांग्रेस जस्ता अभियानदेखि पार्टी रुपान्तरण अभियान अन्तर्गत संगठन चुस्त बनाउन सय दिने विशेष सांगठनिक अभियान लगायतका कार्यक्रम निरन्तर चलिनै रहेको छ ।
यही सेरोफेरोमा पोखरामा जारी अभिमुखीकरण अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा कांग्रेसले लिएको छ । पोखरामा जिल्ला सभापति–उपसभापतिहरुको प्रशिक्षण मात्र चलिरहेको छैन नेताहरुको कोठे बैठक र गुटगत भेलासमेत भइरहेको बुझिएको छ । भेलामा गुटगत घोचपेच पनि कम छैन । होटलको कोठा कोठामा गुटगत छलफल गर्नेदेखि ट्युसन नै सञ्चालन गरिएको चर्चा छ ।
सभापति देउवा र संस्थापनइतर समूहका शेखर कोइराला त छँदैछ, महाधिवेशन लक्षित बहस गर्माएका बेला भर्खरै सतहमा देखिएका महामन्त्री गगन थापाको युवाहरु सम्मलित युवा गुटको चर्चासमेत तीव्र रुपमा भइरहेको छ । यो भेलाले नयाँ र पुराना गुटहरुलाई थप मलजल गर्न मद्दत गरेको विश्लेषण हुन थालेको छ ।
स्वयम् सभापति भएर पनि गुटको संरक्षण गरेका तथा दोस्रो पटक सभापति पद हत्याएपछि शेखर समूहकै गगनलाई काखी च्यापेर शेखरलाई साइजमा राख्न सफल देउवा पछिल्लो समय पार्टीमा बढ्दो गुटगत सक्रियताले झस्किएका छन् । पोखरा पुगेर सरकारप्रति रक्षात्मक बनेका देउवाले पार्टीभित्र झाँगिएको गुटप्रति असन्तुष्टि नै पोखेका छन् । कांग्रेस एकढिक्का भए एक्लै बहुमत ल्याउन सक्ने भन्दै आन्तरिक एकता बलियो बनाउनु पर्ने सन्देश दिएका छन् ।
पोखराको अभिमुखीकरणले कांग्रेसभित्र संगठन विस्तार र पार्टी सुदृढीकरणका लागि कस्तो रक्त सञ्चार गर्छ ? नयाँ सक्रिय सदस्यको संख्या के कति थप्न सक्छ ? त्यो भने आगामी दिनहरुमा खुल्दै जानेनै छ । यद्यपि, प्रदेश र जिल्ला तहका शीर्ष नेताहरुको यो भेला केन्द्रीय नेताहरुसँगको समन्वयका लागि सेतु बन्न अपेक्षा गरिएको छ ।
प्रतिक्रिया