राजनीति

रविलाई माथ खुवाउने गगन–प्रचण्डको ‘स्टन्ट’, विप्लवको धानखेती


मुलुकको सिंगो राष्ट्रिय राजनीति गालीगलौज र आरोप प्रत्यारोपभन्दामाथि उठ्न सकेको छैन । ठुला र पुराना भनिएका दल र नेताहरु मात्र नभइ आफूलाई वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गरिरहेका नयाँ दल र नेताहरुको हर्कतसमेत फरक हुन सकेको देखिँदैन । राजनीतिक रुपान्तरणको नारा लगाएर जनतामाझ पुगे पनि अन्तर्यमा स्टन्टबाजी र सस्तो लोकप्रियताका लागि कोही रहरै रहरमा त कोही विकल्प नै नभएपछि बाध्यताले अनेक योजनासहित जनतासँग जोडिन सक्रिय छन् ।

दलीय स्वार्थको उथलपुथलमा संसदको पहिलो र दोस्रो दल मिलेर बनेको शक्तिशाली सरकारलेसमेत न त जनअपेक्षा अनुसार काम गर्न सकेको छ न त जनतामा छाएको निराशा नै चिर्न सकेको छ । सिद्धान्तभन्दा पनि स्वार्थ केन्द्रित राजनीतिक एजेन्डा हाबी हुँदा राष्ट्रिय राजनीति नै गालीगलौज र आरोप–प्रत्यारोपभन्दामाथि उठ्न सकेको छैन भने राजनीतिप्रति नागरिकको वितृष्णा बढ्दो छ ।

यही परिप्रेक्ष्यमा प्रतिपक्षमा पुगेपछि फुर्सदिला बनेका दलहरु मात्र नभइ सत्तारुढ दल र तिनका भ्रातृ संगठनदेखि वैकल्पिक शक्तिहरुसमेत जनतासँग जोडिन अनेक कसरत गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देश दौडाहा र नेत्रविक्रम चन्द विप्लवको कृषि क्रान्तिको चर्चाले पछिल्लो समय धेरैको ध्यान तानेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले देश बुझ्न गरेको पैदल यात्रादेखि सत्तारुढ दल कांग्रेस–एमालेका भ्रातृ संगठनले आयोजना गरेका कार्यक्रमहरुलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सत्तामा हुँदा बालुवाटार बाहेक अन्त नियल्न फुर्सन नपाएका प्रचण्ड खुमलटार पुगेपछि देश दौडाहामा निस्किए ।

राजनीतिक भेटघाट र सांगठनिक सक्रियतालेभन्दा पनि महंगा जुत्ता लगाएर सडकमा निस्किएका प्रचण्ड मर्निङ वाक–इभिनिङ वाकदेखि सडकपेटीमा गएर भक्का खाएको दृश्यले समाचारको हेडलाइन मात्रै बनेनन् कि सामाजिक सञ्जालमा भाइरल नै भयो । प्रमुख प्रतिपक्षी नेताको हैसियतमा उनले देखाएको राजनीतिक सक्रियता र जनतासँगको भेटघाटभन्दा पनि प्रचण्डले खाना खाएको, हिँडेको विषयले समाचारमा बढी प्राथमिकता पाए । साथै, यसले उनको चर्चासमेत ह्वात्तै बढाएको छ । यस्तै, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिसँगै कृषि अभियानमा सक्रिय भएको विषयसमेत पछिल्लो समय लाइमलाइटमा छ ।

राजनीतिमा सक्रिय भए पनि सत्ताको लाभ नलिएका विप्लव राजनीतिक विचार सिद्धान्तका आधारमा मात्र नभई कृषि कर्ममार्फत जनतासँग जोडिने अभियानमा छन् । विप्लव पछिल्लो केहि वर्षदेखि व्यवसायिक उत्पादनमा जोडिँदै आएका छन् । नेता–कार्यकर्तालाई लिखित रुपमै उत्पादनमा जोडिन निर्देशन दिँदै आएका विप्लवले काठमाडौंमा कृषिजन्य उत्पादन बेच्न मार्टसमेत सञ्चालनमा ल्याएका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ आत्मनिर्भर हुने लक्ष्यसहित उनी कृषिमा सक्रिय भएका हुन् ।

समय समयमा देश नबुझेको आरोप खेप्दै आएकी रास्वपा सांसद सुमना श्रेष्ठले देश बुझ्नकै लागि वीरगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरिन् । लामो समय विदेशमा बसेर स्वदेश फर्किएपछि एकाएक राजनीतिमा होमिएकी सुमनाको देश दौडाहा जनतासँग जोडिने महत्वपूर्ण कार्य मान्न सकिन्छ । यसबाहेक दलगत रुपमा रहेका विभिन्न भ्रातृसंगठन तथा शुभेच्छुक संघसंस्थाहरुले समेत संगठन सक्रिय बनाउनेदेखि युवा पुस्तालाई प्रेरित गर्न विभिन्न कार्यक्रमहरुसम्म गर्दै आएका छन् ।

एमाले निकट युवा संघले शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवनीतिमा आधारित योजनाहरू तर्जुमा गर्दै युवालाई नीति निर्माणमा सहभागी गराउने रणनीतिसहित भेला सम्पन्न ग¥यो । त्यस्तै कांग्रेस निकट नेपाल विद्यार्थी संघले अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० जय नेपाल क्रिकेट कप प्रतियोगिता आयोजना ग¥यो । दल र तिनका भ्रातृ संगठनहरुको प्राथमिकतामा यस्ता गतिविधिहरु पर्नु आफैँमा सकारात्मक विषय हुन् । राजनीति भाषणबाजी र नाराबाजी मात्रै नभई नवीन सोच र विकासको बहसलाई थप वृहत्तर बनाउने महत्वपूर्ण क्षेत्र तथा विषय पनि हो भन्ने कुरालाई यस्ता कार्यले थप भूमिका खेलेको देखिन्छन् । यद्यपि राजनीतिक विश्लेषकहरु भने यसलाई राजनीतिक खेल तथा रणनीति मात्रै भएको तर्क गर्छन् ।

मुलुकको समृद्धि र राजनीतिक स्थिरताको रटान सबै राजनीतिक दल र तिनका नेतृत्वले लगाए पनि व्यवहारिक रुपान्तरणमा भने कसैको गम्भीर चासो देखिँदैन । फलतः यो विषय दशकौँदेखि उठे पनि नेपालको सन्दर्भमा सफल हुन सकेको देखिँदैन । त्यसैले राजनीतिक दल तथा राजनीतिकर्मीहरुले यस्ता विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न व्यवहारिक रुपमै आफू पनि संलग्न हुने र देशकै नीतिमा सुधार गरी विधि बसाल्नतर्फ अग्रसर हुन जरुरी देखिन्छ ।