पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परे यता सडक र सामाजिक सञ्जालमा आक्रामक देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा पनि त्यही गति जारी राख्न खोज्यो । शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशन बैठकमा त्यही दृष्य देखिँदा सभामुखले पेलेरै बैठक अघि बढाएपछि हिस्स परेको रास्वपा आफैँ सभामुख र आफैँ सांसद बन्न बाध्य बनेको दृष्य देखियो ।
संसद अधिवेशन बन्द रहँदा खोल्नु पर्ने माग । जब संसद सुरु भयो । अनि सुरु हुन नपाउँदै अवरोध । लाग्छ, सभापति रवि लामिछानेले पाँच अदालतको चक्कर काट्दा सडक संघर्षबाट थाकेको रास्वपा सदनबाट सरकारलाई टक्कर दिन चाहन्थ्यो । त्यसकै झल्को शुक्रबारको प्रतिनिधिसभा बैठकमा देखियो । बैठक सुरु हुने बित्तिकै बोल्न समय माग्दै टेबुल ढ्याप्ढ्याप पारे पनि समय नपाउँदा रास्वपाले संसद अवरोध ग¥यो । जहाँ संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ‘हामीलाई दोस्रो दर्जाको सांसद किन मानिन्छ ?’ भन्दै प्रश्न उठाएको सुनिन्छ ।
यसको सुरुवात बैठक सुरु हुनुभन्दा दुई घण्टाअघि मात्र सुरु भएको थियो । जहाँ विभिन्न तीन अदालतहरुबाट धरौटीमा छुटेपछि पार्टी कार्यालयमा पाइला नटेकेका रवि सिधैँ सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका थिए । उनै घिमिरेको हस्ताक्षरमा लामिछानेको सांसद पद निलम्बनमा परेको थियो । लामिछानेले निलम्बन फुकुवाका लागि निवेदन दिए । त्यसपछि संसदमा लामिछानेमाथि राजनीति प्रतिशोध साँधिएको भन्दै विरोध जनाउने तयारी थियो ।
२९ मिनेटसम्म उभिँदासमेत समय नपाउनु बरु सभामुखले पेलेर अघि बढेपछि रास्वपा सांसदहरु बैठक हलबाट बाहिर निस्किएका थिए । आफैँले समय तोकेर बैठक बहिष्कारको घोषणा गरेर बाहिरिएका उनीहरु आफैँ बैठकमा उपस्थित भए । जुन आफैँ सभामुख र आफैँ सांसद भएजस्तो रोचक माहोल देखिन्थ्यो ।
अर्थात रास्वपाले संसद बैठकमा विरोधको नयाँ शैली प्रस्तुत ग¥यो । लामिछानेकै मुद्दाले अघिल्लो अधिवेशनसमेत प्रभावित भएको थियो । तर, त्यसबेला कारक कांग्रेस थियो । अहिले त्यही मुद्दालाई राजनीतिक प्रतिशोध भन्दै रास्वपा आक्रामक देखिन्छ ।
यो मामिलामा कांग्रेस सभापति शेरबहादुर देउवाले भने सदाझैँ मौनता साँधे ।
११ मिनेट संसदमा बोलेका देउवाले रविबारे कुनै प्रतिक्रिया जनाएनन् । तर, एमाले भने आक्रामक देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैमाथि प्रतिशोध नसाँधिएको टिप्पणी गर्दा एमाले सचिव योगेश भट्टराई आक्रामक रुपमा प्रस्तुत भए । रविले ठगी गरेको हो कि होइन ? भनेर शिशिर खनाललाई सोध्न उनले भन्न भ्याए ।
हुन त लामिछाने सबै ठाउँबाट धरौटीमा छुट्न थालेपछि रास्वपामा आशा पलाएको देखिन्छ । अदालतले नै त्यो बाटो खोल्दा एमाले–कांग्रेस रिझाउन आवश्यक नरहेको बुझेको रास्वपा अहिले सत्तापक्षप्रति आक्रामक सुनिन थालेको छ । केही दिनअघि मात्र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङतर्फ लक्षित गर्दै सांसद सुमना श्रेष्ठले आईजीबीको जिब्रो थुत्ने अभिव्यक्ति दिनेलाई पुरस्कार दिने तर प्रश्न उठाउने आशिका तामाङमाथि भने हत्कडी लगाउने ?
भन्दै प्रश्न उठाएकी थिइन् । गत बुधबार मात्र सांसद विनिता कठायत कृषि समितिको बैठकमा कांग्रेस–एमालेका सांसदविरुद्ध आक्रामक सुनिएकी थिइन् । योसंगै संसद अवरोध र काउन्टर जवाफले रास्वपा सत्ताविरुद्ध खरो देखिन थालेको संकेत गरेको छ ।
संसद अधिवेशनको पहिलो बैठकदेखि नै सभापतिमाथिको अन्यायको विरुद्धमा लड्न खोजेको रास्वपा सत्तासँग भिड्ने मुडमा देखिन्छ । तर, केही रोचक दृष्य भने देखियो । गत असारसम्म कांग्रेस र राष्ट्रिय जनमोर्चा बाहेक सबै दल रविको पक्षमै थिए । तर यसपटक सडकमा बहुतै साथ दिएको माओवादी पनि संसदमा भने रविको विषयमा चुपचाप देखियो ।
माओवादीले चाहन्थ्यो भने रास्वपाका सांसद बैठक छाडेर हिँड्दा सभामुखले बैठकको कार्यसूची अघि बढ्ने विषयमै निहुँ खोज्न सक्थ्यो । एकातिर प्रतिपक्षले समेत साथ छोड्दै जानु र पार्टीको नेतृत्व नै संसदमा नहुँदा रास्वपा दुई तिहाइसँग भिड्न तम्सिएको छ । सत्तारुढ दलसँग संसदमा सिंगौरी खेल्न तम्सिएको रास्वपाले आफ्नो शक्तिलाई कुन रुपमा प्रस्तुत गर्दै जान्छ ? त्यो भने आगामी बैठकले निर्धारण गर्नेछ ।
प्रतिक्रिया