१६ दिनको हिरासत बसाईं पछि सामाजिक अभियन्ता आशिका तामाङ २० हजार रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भएकी छन् । भक्तपुर जिल्ला अदालतले उनलाई आज धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आज एकैदिन थुनछेक बयान र बहस सकिएको हो ।
भ्रष्टाचार र विकृतिविरुद्ध प्रश्न गर्दा अभद्र व्यवहार र उपद्रव गर्न नहुने लगायत कसुरमा पक्राउ परेकी आशिका तामाङ २० हजार रुपैयाँ धरौटीमा १६ दिनपछि हिरासतमुक्त भएकी छन् ।
उनको पक्राउलाई लिएर चौतर्फी दबाबसमेत बढ्दै गइरहेको थियो । यहीबीचमा भक्तपुर जिल्ला अदालतले उनलाई शुक्रबार २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा शुक्रबार थुनछेक बयान र बहस भएको थियो । आशिकाविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।
योभन्दा अघि उनलाई प्रहरी वृत्त गौशलाले पशुपति विकास कोषका कर्मचारीविरुद्ध अभद्र व्यवहार गरेको कसुरमा गत माघ दुई गते पक्राउ गरेको थियो । १३ दिनसम्म हिरासतमा राखिए पछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा उनलाई रिहा गरेको थियो । तर सोही दिन भक्तपुर प्रहरीले उनलाई पक्राउ गर्दै जिल्ला अदालतमा मुद्दा अघि बढाएको थियो ।
आशिकाले २०८१ असोज ४ गते सूर्यविनायक नगरपालिका–९ बाट वडा नं– १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुलमा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । झोलुङ्गे पुल तरेबापत लिइने शुल्कको रसिदसमेत जलाई दिएकी थिइन् ।सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।
सोही निवेदनका आधारमा आशिकालाई भक्तपुर प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा धरौटीमा छुटेपछि भक्तपुर प्रहरीले पक्राउ गरी लैजाने क्रममा हत्कडी लगाएर हिँडाएको आशिकाको तस्वीर सार्वजनिक भएसँगै आलोचना सुरु भएको थियो । उक्त तस्वीर सामाजिक सन्जालमा भाइरल नै बनेको थियो भने सरकारको तीव्र आलोचना भएको थियो । तामाङको रिहाइका लागिविहीवार रास्वपाकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसहितका नेताहरु भक्तपुर जागाती पुगेका थिए । त्यसक्रममाश्रेष्ठले सरकार नागरिकमाथि निर्मम बन्दै गएको आरोपसमेत लगाएकी थिइन् ।
अभियन्ताका नाममा केही व्यक्तिहरु सडकदेखि संसद भवनसम्मै पुग्दा उनीहरुको पद्चाप पछ्याउँदै पछिल्लो समय केही युवाहरु त्यसैको लहडमा दौडिएकादेखिन्छन् । उनीहरु हरेक विषय र क्षेत्रमा विज्ञका रुपमा प्रस्तुत मात्रै हुँदैनन् कि आलोचना र खबरदारीमा खरो रुपमा देखिने गरेका छन् । त्यही श्रृंखलाको पछिल्लो उदाहरण बनेकी थिइन् आशिका तामाङ । जर्मनीको बसाईंलाई बिट मार्दै नेपाल फर्किएकी उनी दुई बच्चाकी आमासमेत हुन् । उनीभित्र नेपालमा केही गर्ने हुटहुटी देखिए पनि उनको प्रस्तुत हुने शैली भने आमरुपमा असामान्य देखिन्थ्यो ।
जसका कारण आलोचनासँगै उनले समर्थन पनि राम्रै पाउँदै आएकी थिइन् । सुरु सुरुमा फोहोर व्यवस्थापनबारे आवाज उठाउँदै आएकी आशिकाको हर्कत र तरिका भने केही अराजक जस्तोदेखिन्थ्यो । त्यही विरोधको शैलीकै कारण उनले १६ दिन हिरासतको हावा खानु प¥यो ।जनता लुटिएको र ठगिएको भन्दै विरोधको आवाज उठाइरहेकी उनलाई राज्यले गरेको व्यवहारप्रति भने सर्वत्र आलोचना भइरहेको छ । राज्यले उनको मुख थुन्न देखाएको हर्कतले उनीमाथि ज्यादती भएको भन्दै शुक्रबारदेखि सुरु भएको संसद बैठकमा समेत सांसदहरुले आवाज उठाएका छन् ।
देशमा व्याप्त भ्रष्टाचार र विकृति विसंगतिका कारण नागरिकमा निराशा छाइरहेका बेला आशिका जस्तो पात्रले आमरुपमा समर्थन र साथ पाउनु स्वभाविक नै हो । तर, उग्ररुपमा प्रस्तुत हुने उनीहरुको शैलीले सामाजिक सद्भाव खल्बल्याइरहेको विषयमा कसैको ध्यान गएको देखिँदैन भने उच्छृंखल गतिविधि नियन्त्रणको नाममा सरकारबाट भएको ज्यादती झनै आलोचना योग्य छ । आशिका जस्तै आक्रामक रुपमा प्रस्तुत हुने गरेका अर्का अभियन्ता डा. निकोलस भुसाल पनि रास्वपा सभापति रवि लामिछानेको हिरासत भित्रको तस्विर सार्वजनिक गरे पछि हिरासतमा परे । केही दिनको हिरासत बसाई पछि धरौटीमाछुटेका उनी तारिख धाइरहेका छन् ।
हिरासत बसाईं पछि भुसाल हाल गुमनाम जस्तै छन् ।सरकारले पछिल्लो समय सरकारविरुद्ध बोल्नेहरुको मुख थुन्ने रणनीति लिएको देखिन्छ । आफ्ना विरोधीहरुलाई प्रहरीको प्रयोग गरेर विभिन्न मुद्दा लगाउनेदेखि केही समय हिरासत राखेर तह लाउने गतिविधि भइरहेका छन् । यसले सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोपसमेत लागिरहेको छ ।सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न भन्दै अघि बढाएको विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्र हनन् हुने भन्दै आलोचना भइरहेको छ ।
प्रतिक्रिया