अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीहरू धमाधम प्रहरी फन्दामा परिरहेका छन् । अनधिकृत आप्रवासीलाई फिर्ता गर्ने चुनावी प्रतिबद्धताको कार्यान्वयनलाई तीव्र बनाएपछि विश्वको ध्यान तानेको ट्रम्प प्रशासन अवैध आप्रवासीको सूची सार्वजनिक गर्नेदेखि क्युबाको ग्वान्टानामो बेमा आप्रवासीलाई राख्न बन्दीगृह केन्द्र निर्माण गर्ने निर्णय र राष्ट्रपति ट्रम्पको आदेशलाई क्युबाले ठाडो अस्वीकार गरेपछि यो विषय थप चासोपूर्ण बनेको छ ।
गत जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासन मुद्दामा निर्मम र आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् । ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण विश्वभर हलचल पैदा भएको छ । ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई देशबाट निकाल्ने अभियानलाई तीव्र बनाएको छ । ट्रम्पले राष्ट्रपति पद सम्हालेपछिको पछिल्लो ११ दिनमा अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन –आईसीई)ले अमेरिकाबाट करिब ७ हजार अनधिकृत आप्रवासीलाई पक्राउ गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
दैनिक करिब एक हजारको हाराहारीमा अवैध रुपमा बस्दै आएका आप्रवासीहरु प्रहरीको फन्दामा परिरहेका छन् । गत नोभेम्बरसम्म अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीहरु अमेरिकामा अवैध रुपमा बस्दै आएका छन् भने ३४ करोड १० लाख जनसंख्या रहेको अमेरिकामा एक करोड १० लाख अनधिकृत आप्रवासी रहेका प्यु रिसर्च सेन्टरको अनुमान छ ।
ट्रम्प प्रशासनले आप्रवासी नियन्त्रणलाई तिव्रता दिएपछि आप्रवासी नागरिकहरूमा जुनसुकै बेला अमेरिकाबाट निकालिन सक्ने भय मडारिएको छ । यो भयबाट नेपाली आप्रवासीहरू पनि अछुतो छैनन् । उक्त तथ्याङ्क अनुसार १३ सयभन्दा बढी नेपाली अमेरिकामा अवैध रुपमा बसिरहेका छन् ।
तत्काल पक्राउ परेका आप्रवासीहरुलाई उनीहरुकै देश वा तेस्रो राष्ट्रमा लैजाने प्रक्रिया थालेको अमेरिकाले तत्काललाई क्युबाको ग्वान्टानामो बेमा आप्रवासीलाई राख्न बन्दीगृह अर्थात नियन्त्रण केन्द्र निर्माण गने भएको छ । राष्ट्रपति ट्रम्पले यससम्बन्धी आदेश दिएपछि यो विषयले विश्वको ध्यान तानेको छ । राष्ट्रपति ट्रम्पको आदेशलाई क्युबाले भने ठाडै अस्वीकार गरेको छ । आफ्नो भूमि कब्जा गरेर अवैध नियन्त्रण र यातनाजन्य कार्यमा प्रयोग गर्न लागेको भन्दै क्युबा सरकारले अमेरिकाको उक्त योजनाको विरोध गरेको हो ।
यता अमेरिकाले भने पहिलेदेखि नै रहेको उक्त केन्द्रलाई थप व्यवस्थित गरेर प्रयोग गर्न लागेको जनाएको छ । ट्रम्पले क्युबाको ग्वान्टानामो बेमा ३० हजार मानिस राख्न सकिने क्षमताको आप्रवासी नियन्त्रण केन्द्र निर्माण गर्न आदेश दिएका हुन् ।
क्युबाको ग्वान्टानामो बेको तटमा अमेरिकी नौसेनाको अखडा रहेको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी आक्रमणपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसको आदेशमा शंकास्पद विदेशी आतकंकारीलाई राख्ने गरी त्यहाँ सैन्य जेल निर्माण गरिएको थियो । यसअघिका दुई डेमोक्रेटिक राष्ट्रपति बराक ओबामा र जो बाइडनले ग्वान्टानामो जेल बन्द गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
तर उनीहरुले कैदी संख्या मात्र घटाउन सफल भएका थिए । अहिले ट्रम्पको आगमनसँगै क्युबामा रहेको अमेरिकी सैन्य बन्दीगृहलाई विस्तार गर्ने योजनाले उनलाई विवादित बनाएको छ । यसको कार्यान्वयन कुन रुपमा अगाडि बढ्छ ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया