काठमाडौं—गृहमन्त्री रमेश लेखकले सरकार सुशासन सहितको विकास र आर्थिक समृद्धिको यात्रामा निरन्तर लागिरहेको बताएका छन् । राष्ट्रिय सहिद दिवसका अवसरमा संघीय सरकारले सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले सरकार सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै गएको बताए । देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उनको भनाइ थियो ।
गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्नुपर्ने र सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्ने पनि बताए । संविधानको रक्षा, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण राष्ट्रिय आवश्यकता भएको बताउँदै गृहमन्त्रीले सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने धारणा राखे । उनले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।
प्रतिक्रिया