सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा देखिएका बेथिति तथा अनियमितताविरुद्ध खरो आवाज उठाउने आशिका तामाङ अहिले प्रहरी हिरासतमा छिन् । गलत प्रवृत्तिको हाकाहाकी विरोध गर्ने उनको शैलीकै कारण उनी हिरासत पुगेकी हुन् । अहिले आशिकाको दुवै हातमा हड्कडी लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसंगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
दुवै हातमा हड्कडी, शरीरमा थुनुवाको पहिरन, मुखमा मास्क, एउटा जघन्य अपराध गरेको अपराधीलाई जस्तो व्यवहार राज्यले एउटी नारीमाथि गर्दा सिंगो प्रहरी संगठन र सरकारकोतानासाही प्रवृत्तिउदांगिएको छ । विगत १३ दिनदेखि प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गर्दा देखिएको यो दृश्यले अहिले सामाजिक सञ्जाल तरंगित बनेको छ ।गौशला प्रहरीले माघ दुई गते पशुपति क्षेत्र विकास कोषमा सूचना लिन जाँदा आशिका र उनको समूहले दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धानको बहानामा उनलाई १३ दिनसम्म हिरासतमा राख्नु नै गलत नियत रहेको आरोप लागिरहेको छ ।
साथै सीडीओ कार्यालयमा लैजाँदासमेत जघन्य अपराधको अभियुक्तलाई जस्तो व्यवहार गर्दै हतकडी लगाइनुले पनि उनीप्रति राज्य निरंकुश बन्न खाजेको प्रष्ट हुने भन्दै टिप्पणी भइरहेका छन् । सामान्य आरोपमा पक्राउ परेका नागरिकमाथि प्रहरीले मनलाग्दी व्यवहार गर्ने तथा दादागिरी देखाउने गरेको भन्दै कानुन व्यवसायीहरुलेसमेत आपत्ति जनाएका छन् । आशिका जस्ता कयौँ नागरिकलाई प्रहरीले नियतबस दुःख दिएको कानुन व्यवसायीहरु बताउँछन् । यसले प्रहरी संगठनको साख र इमानमाथि नै प्रश्न उठेको छ ।
बागमती नदी सफाइ अभियानबारे सोधपुछ गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा आशिकालाई माघ २ गते प्रहरीले पक्राउ गरेको थियो । सो कसुरमा अधिकतम १० हजार जरिवाना वा एक वर्ष कैद तथा दुवै सजाय हुनसक्ने प्रावधान छ । तर आशिका तामाङलाई १३ दिन प्रहरीले हिरासतमा राखेर सीडीओको आदेशले सोमबार रिहा गरेको थियो ।
उनी काठमाडौंबाट रिहा भए पनि केही मिनेटमै भक्तपुर प्रहरीले फेरि पक्राउ गरेको थियो ।उनले केही समयअघि साँगाको झोलुंगे पुलमा अवरोध पु¥याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भन्दै सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो । उनीविरूद्ध भक्तपुर परिसरमा आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकाले, भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।आफूलाई अभियन्ता भन्दै आशिकाले जुन हर्कत र शैली अपनाएकी थिइन्, कानुनी रुपमा त्यो स्वीकार्य थिएन नै ।
नागरिकले कहीँकतै बदमासी भएको सूचना वा प्रमाण पाएको अवस्थामा सम्बन्धित सरकारी निकायलाई जानकारी दिन सक्छ।त्यसमा सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन सक्छ । तर, सार्वजनिक तथा सरकारी निकायहरुमा व्याप्त भ्रष्टाचार र मौलाउँदो बेथितिले आशिका तामाङ मात्रै नभइ आम नेपाली नागरिक हैरान छन्, निराश छन् ।
त्यस्ता कुराको आम नागरिकले प्रतिवाद गर्न नसके पनि त्यो भिडबाट आशिकाहरु निस्कनुलाई तिनै बेथितिहरुको उपज मान्नु पर्छ । तर उनको हर्कत र शैलीमा भने केही सुधार ल्याउनु पर्ने देखिन्थ्यो । त्यसमा आशिकालाई केही घण्टा सम्झाएर तथा माफी मगाएर पनि पठाउन सकिने विकल्प हुन सक्थ्यो । तर प्रहरी सरकारको मतियार बन्दै प्रतिशोधपूर्ण रुपमा आशिकामाथि खनिएको देखिन्छ । जुन कार्य आपत्तिजनक रहेको भन्दै आलोचना भइरहेको छ ।
अभद्र व्यवहारको कसुरमा मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ आकर्षित हुन्छ । यो दफाले अभद्र व्यवहारका रूपमा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गरेमा त्यसलाई अभद्र व्यवहारको रूपमा परिभाषित गरेको छ।
साथै यस्तो गरेको ठहरिएमा अभद्र व्यवहार गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ।यो प्रावधान भनेको सिधै हाजिरी जमानी वा धरौटीमा रिहा हुनसक्ने कानुनी प्रावधान हो। तर, आशिकामाथि अभद्र व्यवहारको आरोप लगाउँदै अनुसन्धानको नाममा दुःख दिने र जघन्य अपराधीको रुपमा व्यवहार भएको कानुनका जानकारहरुकै टिप्पणी छ ।
ठूला ठूला भ्रष्टाचार काण्डमा मुछिएकाहरु राज्य सत्ताबाटै संरक्षित हुने यो देशमा सानोभन्दा सानो विरोधी आवाजलाई पनि दबाउने हर चेष्टा हुनु कानुनी राज्यकै धज्जी उडाउनु हो । साथै सरकार र सरकारी गलत प्रवृत्तिविरुद्ध बोल्नु हुँदैन र बोले कडा सजाय हुन्छ भन्ने भाष्य निर्माण गर्दै आमनागरिकलाई तर्साउने कार्यमा राज्य स्वयम् लाग्नुले लोकतन्त्रको उपहास मात्रै भइरहेको छैन कि नागरिकको वाक स्वतन्त्रताको मुख थुन्न खोज्ने कदमको रुपमासमेत बुझ्न थालिएको छ ।
प्रतिक्रिया