राजनीति, सैन्य शक्ति, अर्थतन्त्र सबै क्षेत्रमा प्रतिष्पर्धी भएका अमेरिका र चीन प्रविधिमा पनि एकअर्कालाई टक्कर दिँदै अघि बढेका छन् । एक साताअघि मात्रै सार्वजनिक भएको चिनियाँ एप ‘डीपसिक’ ले अमेरिकी एआई कम्पनीको शेयर मूल्यमा भारी गिरावट ल्याइदिएसँगै अप्रत्याशित चर्चा कमाइरहेको छ ।
छोटो समयमा नै सबैभन्दा धेरै डाउनलोड भएको चिनियाँ एआई एप डीपसीकले अमेरिकी शेयर बजारमा ठूलै धमाका मच्चाएको छ । अर्बांै डलरमा तयार भएको अमेरिकाको च्याट जीपीटीसँग मात्रै ६० लाख डलरमा तयार भएको डीपसीक आएसँगै सोमबार अमेरिकाका एआई कम्पनीहरूको सेयर बजार मूल्यमा ६०० बिलियन डलर बढीको नोक्सान भएको हो ।
डीपसीकको उदयसँगै एआईमा प्रयोग हुने शक्तिशाली अमेरिकी चिप कम्पनी एनभिडिआको शेयर मूल्य १७ प्रतिशतले घटेको छ । बजार पुँजीकरणका दृष्टिले विश्वमै सबैभन्दा मूल्यवान् कम्पनी बनेको एनभिडिआ सोमबार एपल र माइक्रोसफ्ट भन्दा पछाडि पुगेको फोब्र्सले जनाएको छ । यो कुनै पनि अमेरिकी कम्पनीले देशको इतिहासमा एकै दिन गुमाएको सबैभन्दा ठूलो रकम हो ।
डीपसीकको असर सबैभन्दा धेरै यो कम्पनीमा देखिँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीपसीकको नामै लिएर यसले अमेरिकालाई चेतावनी दिएको बताएका छन् । उनले डीपसिकको उदयलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि ‘वेक अप कल’ अर्थात् जागा हुने घण्टी भएको टिप्पणी गरेका छन् । चीनको एआई उद्योगको पछिल्लो प्रगति अमेरिकाका लागि सकारात्मक हुन सक्ने ट्रम्पको धारणा छ । चिनियाँ भन्दा सस्तो बनाउन सकिएमा अमेरिकाका लागि अवसर मिल्ने उनले बताएका हुन् ।
अमेरिकाले चीनलाई उन्नत चिप प्रविधि बेच्न रोक लगाएकै समयमा चीनले डिपसिक ल्याएको हो । यो एपको अचानक बढेको लोकप्रियता र अमेरिकी एआई कम्पनीहरूको तुलनामा यसको न्यून लागतका कारण अमेरिकी अर्थतन्त्रमा चिन्ता पैदा हुन पुगेको छ । डीपसिक अमेरिकामा मात्रै नभएर बजारमा आएको केही हप्तामा नै बेलायत तथा अरू देशहरूमा पनि सबैभन्दा बढी डाउनलोड हुने सस्तो एआई एप बनेको छ ।
यस्तै चिनियाँ एप टिकटकले अमेरिकामा कानुनी समस्याको सामना गर्दै भविष्य अनिश्चित भइरहेको अवस्थामा डीपसिकले अमेरिकालाई झट्का दिएको छ । टिकटकलाई अधिग्रहण गर्न माइक्रोसफ्टवार्तामा रहेको समाचारहरू बाहिरिरहेका छन् । राजनीतिकदेखि आर्थिक हुँदै सैन्य शक्तिमा पनि प्रतिष्पर्धी बन्दै आएका यी दुई देश अब फेरि प्रविधिमा पनि एकअर्कालाई टक्कर दिन अघि बढेका छन् ।
प्रतिक्रिया