राजनीति

रास्वपाको बच्पनले कांग्रेस–एमाले हैरान


जनताको प्रतिनिधित्व गर्दै सार्वभौम संसदमा जनताकै समस्या र एजेण्डा उठाउने सांसदहरु नै व्यक्तिगत आक्षेप र टिकाटिप्पणीमा उत्रिँदा आफैँले मर्यादाको धज्जी उडाएका छन् । रास्वपा सांसद विनिता कठायतले केही दिन अघि संसदीय समिति बैठकमा उठाएको व्यक्तिगत प्रसंगले अहिले सामाजिक सञ्जाल तातिएको छ । साथै उनले उक्त घटनासम्बन्धी सीसीटिभी फुटेज झिकाउन समितिसमक्ष माग गरेपछि माननीयहरुको हर्कतले सबैको ध्यान तानिरहेको छ ।

जनताको प्रतिनिधित्व गर्दै सार्वभौम संसदमा जनताकैसमस्या र एजेण्डा उठाउने सांसदहरु निजी चासोका विषयमा बढी केन्द्रित हुँदा माननीय पदकै धज्जी उडाइरहेका छन् । उनीहरुले छातीको देब्रेतिर झुण्डाएको नेपालको नक्सा र झण्डा अंकित लोगोले देशको माननीयकै मर्यादामाथि प्रश्न उठाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले अनुगमनका लागि पोखरा पुगेकोसांसदहरुको एउटा टोलीबारे टिप्पणी गर्दै व्यक्तिगत लाञ्छनाको विषय उठाएपछि राजनीतिक वृत्त नै तरंगित बनेको छ । गत पुस २९ गते कृषि समितिका सदस्यहरू गुठी जग्गाको स्थलगत अनुगमन गर्न पोखरा गएका थिए । त्यसक्रममा होटलमा आन्तरिक रुपमा गरिएको संवादलाई लिएर सांसद कठायतले संसदीय समिति बैठकमै आपत्ति जनाएकी थिइन् ।

उनको आक्रोशपूर्ण अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।गत बुधवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकोे बैठकमा सांसद कठायतले होटलमा मद्यपान गर्दै अरु दलका सांसदहरुले रास्वपा र रास्वपा नेताहरुबारे कुरा काटेको लाञ्छना लगाइन् । बैठकमा धारणा राख्न समय लिएकी सांसद कठायत निकै आक्रोशित रुपमा प्रस्तुत भइएकी थिइन् । सांसद कठायतले समितिका सदस्यहरू आफ्नो मुख्य कामभन्दा होटलमा रक्सी पिउँदै रास्वपा नेताका व्यक्तिगत विषयमा चर्चा गर्न बढी व्यस्त रहेको आरोप लगाइन् ।

सांसद कठायतले पोखराको सन्दर्भ उठाउन थालेपछि समिति सभापति कुसुम थापाले ‘तपाईंका कुरा छैनन् ? भन्दै विषयतर्फ केन्द्रित गर्न खोजिन् । तर सांसद कठायत झनै आक्रोशित बन्दा केही समय छलफलमा रहेको समितिको माहोल गर्माएको थियो ।समितिमा कतिपय सदस्यले सांकेतिक रूपमा पोखराको विषयमा मौन रहन इशारा गरिरहेको भडियोमा प्रष्ट देखिन्छ । तर, कठायत यतिमै रोकिइनन् ।

उनले पोखरामा आफ्नो पार्टीका सभापति रवि लामिछाने, सांसदद्वय सुमना श्रेष्ठ र सोविता गौतमको के कस्ता कुरा काटिए भनेर सुनाइन् । जस्ले जनताको प्रतिनिधित्व गर्ने सांसदहरुले के कस्ता विषयमा छलफल गर्दा रहेछन् भन्ने कुरालाई छर्लङ पार्दा समिति बैठकको एजेन्डाभन्दा बाहिरको विषय उठाएकी कठायतमाथि समेत प्रश्न तेर्सिएको छ ।

सांसद कठायतले उठाएको प्रसंग पुस २९ गतेको हो भने उनले माघ ११ गते बसेको समिति बैठकमा यो विषय एकाएक उठाएकी थिइन् । त्यसो त पोखरा गएको सांसदहरुको टोलीमा उनी स्वयम सहभागी थिइन् । आफैँ सहभागी अनुगमन टोलीभित्र भएको उक्त कुरा उनले तत्काल बाहिर नल्याएर माघ ११ गतेको समिति बैठकमा राखिन् ।

जुन एजेन्डा बाहिरको प्रसंग थियो भने करिब १० दिनपछि एकाएक आक्रोशपूर्ण रुपमा राखिनुको पछाडि के कारण थियो भन्ने शंका उब्जाएको छ । यसका साथै सो विषयमा प्रमाण लिएर आउनू भनेपछि आइतबारसांसदकठायतले समितिमा सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी छन् ।कठायतले पुस२९ माकृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी हुन् ।

उनले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी छन् ।उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउनसमेत माग गरेकी छन् । यसले जनताको आवाज उठाउने थलोमा पुगेका सांसदहरुले कतिसम्म राज्यकोषको दुरुपयोग गर्दा रहेछन् भन्ने एउटा उदाहरणलाई उदांगो बनाएको छ भने अर्को तर्फ सांसदहरुको व्यक्तिगत इगोले कुन हदसम्मको व्यवहार देखिँदैछ भन्ने प्रष्ट पारेको छ ।

पुरानाहरुको विकल्पका रुपमा उदाएका नयाँ भनिएका दलका नेता तथा सांसदहरुको गतिविधि र हर्कतलाई हेर्दा पुरानालाई पनि टप्ने खालका देखिन्छन् । यस्ता गतिविधिलेवैकल्पिक भन्नेहरुलाई स्थापितभन्दा पनि विस्थापित गर्ने खतरा बढी हुने देखिन्छ भने ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने नेपाली उखानलाईसमेत चरितार्थ गरेको छ ।