नेपाली कांग्रेसको एक पक्षले जुनसुकै हालतमा सरकारलाई बोक्ने रणनीति अपनाउँदा अर्को पक्षमा भने असन्तुष्टि बढ्दो छ । यो केन्द्रबाट प्रदेशतहसम्मै फैलिँदा विगतमा संस्थापन पक्ष भनिएकैहरु समेत सरकारको आलोचनामा छन् । यसले कांग्रेसभित्र देखिएको असन्तुष्ट पक्षको पछाडि को छ भन्ने प्रश्न बलियो बन्दा देउवाले ढाक्न नसक्ने त होइनन् भन्ने प्रश्नसमेत छ ।
कांग्रेस एमालेमा उत्पन्न दरार पुर्न दुवै दलका नेताहरु लागिपर्दा कांग्रेसको एक तप्कामा भने असन्तुष्टि बढिरहेको छ । संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाटै भड्किएको यो तप्काले अध्यादेशमासमेत प्रश्न गरिरहेको छ । जसमा इतर समूहका नेताहरुमात्र नभएर कांग्रेसका संस्थापन गुटका नेतासमेत छन् । अर्थात एकातर्फ सभापति शेरबहादुर देउवा,महामन्त्री गगन थापा जस्ता व्यक्तिहरु सरकारको बचाउमा ज्यान दिएर लाग्दाआफ्नै नेताहरुलाई तह लगाउन उनीहरु असफल भएका हुन् ।
हुनपनि कांग्रेस नेतृत्वले एमालेसँगको गठबन्धन ०८४ को निर्वाचनसम्म चल्ने ब्रिफिङ गरेको छ । कांग्रेस संसदीय दलको आइतबारको बैठकमा सरकारको काम, अध्यादेशको औचित्य र यसले भावी दिनमा पार्दै जाने प्रभाव तथा उच्चस्तरीय राजनीतिक संयन्त्रको कामका विषयमा ‘ब्रिफिङ’ गर्दै नेताहरूले त्यस्तो बताएका हुन् ।
पटक–पटक सरकार परिवर्तन गर्ने अभ्यासले जनतामा वितृष्णा बढ्दै गएकाले लामै गृहकार्यसहित एमालेसँग गठबन्धन गरेको बताउने उनीहरु यसको कुनै विकल्प नभएको आफ्ना नेताहरुलाई प्रष्ट्याइरहेका छन् । यतिमात्र नभएर संसदमै पनि फरक मत नसुनियोस भनेर कांग्रेसले आफ्ना सांसदहरुलाई बाध्ने निर्णय गरिसकेको छ । आन्तरिक बैठकमा नेतृत्वको आलोचना गर्न र कुरा उठाउन पाइने भएपनि पार्टीले अन्तिममा निकाल्ने निष्कर्षको विरुद्धमा जान नपाइने कांग्रेसको बुझाइ छ । अर्थात आफ्ना कारण सरकारमाथि प्रश्न उठ्ने वा आशंका पैदा हुने र त्यसैमा विपक्षीले खेल्नसक्ने विषयमा कांग्रेस चनाखो हुने प्रयास गरिरहेको छ ।
तर अवस्था भने त्यति सहज छैन । सरकारविरुद्ध एनपी साउद, नैनसिंह महर जस्ता संस्थापन पक्ष भनिएका नेताहरुले नै प्रश्न उठाँउदै हिँडेका छन् । त्यस्तै अर्जुननरसिंह केसी जस्ता गगन नजिक नेताहरु प्रधानमन्त्रीले बोली ठेगानमा राख्नुपर्ने निष्कर्षमा रहँदा बोलेर सोच्ने एमालेको शैली घातक भइरहेको स्वयम् मीनबहादुर विश्वकर्मालेसमेत बताएका छन् । यसैबीच कांग्रेस सांसदरुले प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममै प्रश्न गरिरहेका छन् ।
यसैको उदाहरण कांग्रेसका सांसद दुर्लभ थापाले भक्तपुरमा विकास अड्किएको आरोप नै लगाए। सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरमा विकास किन अड्कियो भन्दै प्रश्न गर्न भ्याएका हुन् । स्वयम् महामन्त्री थापालेसमेत अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गरेर देखाउँछु भन्ने अभिव्यक्ति नै दिएका छन् ।
यसबाहेक प्रदेश सरकारमासमेत एमाले नेतृत्वको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि बढ्दो छ । एमालेबाट सरकारको नेतृत्व भएको लुम्बिनी र कर्णाली प्रदेशमा सत्ता गठबन्धनको मर्म र भावना अनुसार सरकारको नेतृत्व गरेको दलको व्यवहार नदेखिएको कांग्रेसका प्रदेश नेताहरुको भनाइ छ । उनीहरुको असन्तुष्टि मन्त्रीहरुको कार्यशैलीदेखि संसदीय समितिको नेतृत्वमा सत्तारुढमात्र हुनुपर्ने विषयसम्म देखिएको हो । जहाँ एमाले नेताहरुले पनि यसलाई स्वीकार्छन् । तर यी सरकारमाथि प्रश्न उठाउनेहरु जुनसुकै दल र पदमा भएपनि देशमा स्थिरता नचाहने र दक्षिणबाट उचालिएको पात्र भएको एमाले नेताहरुले आरोप लगाउँदै आएका छन् ।
हुन त कांग्रेसले नै बोल्न स्वतन्त्रता भएको र एकहदसम्म अनुशासन नभएको पार्टीकै ट्यागसमेत पाउँदै आएको छ । यद्यपि, देउवाको बोली नै अन्तिम हुने अवस्थाका कारण सहयात्रीलाई डिल गर्न त्यति असहज भने छैन । यही कारण उनको मौनतासम्म ओली ढुक्क नै देखिन्छन् । जसमा गगनको पनि साथ रहनु अर्को विश्वासको आधार बन्दा गुटले केसम्म गर्न सक्छ भन्ने उदाहरण कोशीमा शेखर कोइरालाको विद्रोह नै पर्याप्त छ । जहाँ एमालेप्रति आक्रामक र कांग्रेसप्रति नरम देखिँदै आएकापुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणको एक आधार कांग्रेसको गुटमा खेल्न सकिने विश्वाससमेत देखिन्छ । त्यसमा दक्षिणी शक्तिसँग ओलीको नसुध्रिएको व्यवहारकाबीच यी सबै घटनाक्रम गुट र भाग नपाएको छटपटीमात्र भएको भन्दै बेवास्ता गर्न सकिने अवस्था भने छैन ।
प्रतिक्रिया