राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै अमेरिकाले अवैध आप्रवासीहरूलाई फिर्ता गर्न थालेको छ । पहिलो पटक सैन्य जहाज प्रयोग गरेर अवैध आप्रवासीविरुद्ध अभियान सञ्चालन गरेको अमेरिकी सुरक्षाकर्मीेले घरघरमा गएर, ढोकाढोकाबाटै उनीहरुलाई नियन्त्रणमा लिइरहेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी एजेण्डामा समावेश गरेका घोषणा कार्यान्वयनमा अग्रसरता देखाउन थालेका छन् । जसअनुसार उनले अवैध आप्रवासीहरूलाई धमाधम अमेरिकाबाट निकाला गर्ने अभियान थालेका छन् । गत जनवरी २० मा राष्ट्रपति पदको दोस्रो पटक शपथ ग्रहण गरेका उनले एक सातापछि नै अवैध आप्रवासीहरूलाई अमेरिकाबाट हटाउने कार्य थालेका हुन् । जसको सुरुवात दुई हजार चार सय जना पक्राउ गरेको सिकागो शहरबाट भएको छ । अवैध आप्रवासीहरुलाई हातमा हतकडीसहित पक्राउ गरिएसँगै उक्त क्षेत्र क्रमशः ‘घोस्ट टाउन’ को रुपमा परिणत हुन थालेको छ ।
अवैध आप्रवासीहरूलाई फिर्ता गर्न पहिलो पटक सैन्य जहाज प्रयोग गरेको अमेरिकाले टेक्ससबाट सैन्य जहाजमार्फत एक सय ६० जनालाई ग्वाँटेमाला फर्काएको छ । पहिलो उडान दक्षिणी छिमेकी मेक्सिकोमा गर्न खोज्दा मेक्सिकोले अनुमति दिएको थिएन । ट्रम्पले दक्षिणी सीमा मेक्सिकोमा सङ्कटकाल घोषणा गर्दै सेना परिचालन गरेपछि मेक्सिको बिच्किएको छ ।
कोलम्बियाले पनि निर्वासित आप्रवासी बोकेको अमेरिकी विमानलाई सैन्य विमान भएको आरोप लगाउँदै आफ्नो देशमा अवतरण गर्न अनुमति दिएको थिएन । तर, पछि ट्रम्पले कोलम्बियाली अधिकारीहरूको अमेरिका यात्रामा प्रतिबन्ध लगाउने र तत्काल भिसा रद्द गर्नेदेखि कोलम्बिायाको सामानमा २५ प्रतिशतसम्म कर लगाउने चेतावनी दिएपछि कोलम्बिया सरकार पछि हटेको थियो । अमेरिकी सैन्य विमानबाट निर्वासित अवैध आप्रवासी नागरिकलाई फिर्ता लिन कोलम्बिया सहमत भएको छ ।
अमेरिकाले गैरकानूनी तलबमा अमेरिकामा लुकेर बसेका, औपचारिक कागजातहरू नभएका आप्रवासीहरूलाई अवैध आप्रवासीको सूचीमा राखेको छ । अमेरिकामा अवैध आप्रवासीहरूको यकिन तथ्याङ्क छैन । यद्यपि, यसको आँकडा डेढ करोडभन्दा माथि नै रहेको त्यहाँका सञ्चार माध्यमको दाबी छ । अमेरिकी सरकारले सार्वजनिक गरेको एक रिपोर्टअनुसार अमेरिकाले पक्राउ नगरेका २ देखि ११ लाखसम्म अवैध आप्रवासी भएका देशमा मेक्सिको, ग्वाँटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, क्युबा, कोलम्बिया, निकारागुआ, इक्वेडर र हाइटी छन् । सबैभन्दा धेरै मेक्सिकोका ११ लाख ३५ हजार ७४३ र सबैभन्दा थोरै हाइटीका २ लाख ९२ हजार १७८ जना छन् ।
ट्रम्पको योजना एक करोड बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने छ । जसअनुसार अमेरिकाले आगामी ६ महिनाभित्र तीन हजार बढी नेपालीलाई स्वदेश फर्काउन सक्ने सम्भावना छ । त्यसमा सबैभन्दा बढी सन् २०१५ जुन २४ पछि अमेरिका पुगेका नेपालीहरू पर्ने देखिन्छन् । यसअघि पनि जो बाइडेनको कार्यकालमा अवैध रुपमा बसोबास गरिरहेका एक सयभन्दा बढी नेपालीहरूलाई स्वदेश फर्काइएको थियो । ट्रम्प दोस्रो पटक ह्वाइट हाउस प्रवेश गरेसँगै अवैध आप्रवासीविरुद्ध कडा नीति लिएका छन् । जसले नेपालीका साथै विश्वभरबाट अमेरिका पुगेका अवैध आप्रवासीहरु नराम्ररी प्रभावित हुने भएका छन् । अवैध मार्ग (डंकी) रुटमार्फत अमेरिका जानेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा अमेरिकाको नयाँ आप्रवासन नीतिले भने ठूलो धक्का दिएको छ ।
साथै यस कार्यमा सक्रिय गिरोहहरुको धन्दामासमेत ट्रम्प प्रशासनले ठूलो झड्का दिएको छ । तर ट्रम्प सरकारको मुख्य एजेन्डा भनेको अवैध रुपमा अमेरिका प्रवेश गरेकाहरुलाई पुनः फिर्ता पठाउनु र गैरकानुनी ढंगले कुनै पनि देशका नागरिकलाई लुकेर बस्न नदिनु नै रहेको छ । यो अभियानले सुरुवाती चरणमा जुन तीव्रता पाएको छ, त्यही गतिमा भविष्यमा पनि अगाडि बढ्छ वा पढ्दैन त्यो भने हेर्न बाँकी छ । किन भने कतिपय देशले यसमा मानवअधिकारको विषयसमेत उठाएकाले ट्रम्पको अभियानमाथि कानुनी अंकुश लाग्न सक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया