काठमाडौं—नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने बताइएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् ।
राजनीति
प्रतिक्रिया