राजनीति

रवि प्रकरणले रास्वपालाई नाफा, समर्थक झनै बढे


सभापति रवि लामिछानेको सहकारी मुद्दामा सहजीकरणका लागि रास्वपाका शीर्ष नेता यतिबेला ठूला दललाई रिझाउन सक्रिय रुपमा लागेका छन् । तर तल्लो तहका नेता भने तिनै पुराना दलविरुद्ध आक्रामक बन्दा सभापति लामिछानेबिना पार्टी कसरी अघि बढिरहेको छ त ?

सभापति रवि लामिछानेबिना यतिबेला रास्वपा के गर्दैछ भन्ने आमचासो छ । सुरुमा त आफ्ना सभापति लामिछानेविरुद्धको सहकारी मुद्दा गम्भीर ढङ्गले अघि नबढेपछि हौसिएका रास्वपाका नेता कार्यकर्ताहरु ठूला दललाई रिझाउदेखि भिड्नेसम्मको गतिविधिमा व्यस्त छन् । पार्टी सभापति रवि लामिछानेले हिरासतबाटै टिका लगाएर कार्यावहाक सभापति बनाइदिएपछि अवसर र चुनौतीको चाङमा रहेका डोलप्रसाद अर्याल यतिबेला पार्टीभित्र सभापति लामिछानेदेखि तल्लो तहसम्मको मन जित्ने कोसिसमा छन् ।

फलतः उनले सभापति लामिछानेको मुद्दामा सहजीकरण गरिदिन बालुवाटारै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे । सभापति लामिछानेका एकपछि अर्को मुद्दा सहज बन्दै जाँदा उनको आग्रहलाई सुनेको मात्रै नभई भित्रभित्रै प्रधानमन्त्री ओलीले सहयोग त गरिरहेका छैनन् भन्ने आशंकालाईसमेत बल पुर्याएको छ । यस्तै कार्यवहाक सभापतिले लामिछानेको मुद्दामा प्रतिपक्ष कित्तालाई एक ठाउँमा उभ्याउने कोसिससमेत गरे ।

रास्वपाभित्र केही पंक्ति कांग्रेस–एमालेसँग भिडिरहँदा शीर्ष नेतृत्व भने आफ्ना सभापतिको मुद्दाकै लागि भएपनि रिझाउन लागिपरेको छ । फलतः सरकारको कार्यशैलीप्रति खरो रुपमा प्रस्तुत हुँदै आएको रास्वपा पछिल्लो समय एकाएक नरम देखिएको छ । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै सत्ताधारी दलभित्रैबाट विरोध भइरहँदा रास्वपाका कार्यवहाक सभापति भने सत्ताको बचाउमा लागेका छन् ।

यहीबीचमा संसद अधिवेशनसमेत आह्वान भइसकेको अवस्थामा रास्वपा अब कसरी प्रस्तुत हुन्छ भन्ने पनि चासोपूर्वक हेर्न थालिएको छ । संसदीय दलको नेता छान्ने विषयमा पनि पार्टीभित्र सकस देखिन्छ । त्यसका निम्ति गुट मौलाएको भन्दै पार्टीभित्रैका केही नेता चिन्तित देखिन्छन् । क्षमता र बौद्धिकताका आधारमा उपसभापति डा. स्वर्णिम वाग्लेलाई दलको नेता बनाइनुपर्ने एकथरिको तर्क छ । यस्तै सभापति लामिछानेका विश्वास पात्र डिपि अर्याललाई दलको नेता बनाइनुपर्ने अर्र्काे थरिको बुझाइ रहँदा यो विषय झनै पेचिलो बन्ने पक्का छ ।

शीर्ष नेतृत्व सत्तालाई रिझाउनेदेखि संसदीय दलको नेता छान्ने सकसमा रहँदा रास्वपाका केही पंक्ति भने लगातारको प्रहारबाट कांग्रेस–एमाले नै थाक्ने अवस्थामा पुगेको भनेर बुझेकाहरु पार्टीलाई कसरी सशक्त बनाउने भन्ने ध्येयमा अघि बढेका छन् । केन्द्रीय महाधिवेशनको समय नजिकिँदै गर्दा अहिले रास्वपा जिल्ला र वडा तहको अधिवेशनमा केन्द्रीत छ । उसले ६५ जिल्लामा संगठनसमेत विस्तार गरिसकेको छ ।

सोही सिलसिलमा दाङमा देखिएको भेलाले पनि रास्वपा झनै सशक्त बन्दैछ भन्ने पुस्ट्याई गर्दथ्यो । जहाँ आफूहरुमाथि भइरहेको राजनीतिक दमनले पार्टी कमजोर नभई झनै निखारिएको, जनताको माया र भरोसा बढेको रास्वपाका नेताहरु तर्क गर्छन् ।

लामिछाने हिरासतमा पुगेपछि केही समय अन्यौल र छटपटीमा पुगेको रास्वपा अहिले भने सभापतिबिनै बलियो प्रमाणित गराउने चुनौतिमा रहँदा तल्लको तहका नेताहरु ठूला दलसँग भिडिरहेका छन् । सभापति हिरासतमा पुगेदेखि नै आफूहरुमाथि राज्यले हेपाहा र प्रतिशोधपूर्ण व्यवहार देखाएको भन्दै खनिँदै आएका उनीहरु अहिले झनै दबाव बढाइरहेका छन् । जहाँ केही दिनअघि कृषि समिति बैठकमा आफ्ना नेताहरुमाथि अनावश्यक टिप्पणी गरेको विषयलाई लिएर सांसद् बिनिता कठायतले सभापतिलाई थर्काउदै दिएको चेतावनीले पनि ठूला दलसँग रास्वपा झनै आक्रामक बन्दैछ भन्ने बुझाईलाई पुष्टि गर्दछ ।

रवि लामिछानेले सहकारीको मुद्दा खेप्न चितवन र पर्सा बाँकी छ । जसमध्ये चितवनमा उनलाई रुपन्देहीमाभन्दा सहज हुने अनुमान गरिएको छ । किनभने जिल्ला प्रहरी कार्यालय चितवनले सहारा चितवनको रकम बहिनामिनाको पूरक अनुसन्धान गरि बुझाएको प्रतिवेदन जिल्ला सरकारी वकिलले प्रहरीलाई नै फिर्ता पठाइसकेको छ ।

यसले अनुसन्धान नै फितलो भएको पक्का हुँदा रवि लामिछानेविरुद्ध कर्मकाण्ड पुर्याउनमात्र त मुद्दा दायर हुँदै छैन ? भन्ने प्रश्नसमेत उब्जाएको छ । हुन त रवि लामिछानेको मुद्धामा अहिले सहजिकरण कसरी भइरहेको छ प्रश्न र शंका त छदैछ । जहाँ मुद्दा पनि व्यक्ति र पार्टी हेरेर गम्भीर र फितलो बनाउने परिपाटीले भने महान्यायाधिवक्ताको कार्यालय विवाद र प्रश्नै प्रश्नको घेरामा च्यापिएको छ ।

जनतासँग गरेको बाचा भुल्दै सत्तामा गएकोमा बढेको निराशा अब रास्वपाले पार्टी सभापति रवि लामिछानेको मुद्दासमेत सहज बन्दै जाँदा चिर्नै पर्नेछ । जनतासामु गरेका पहिलेका बाचालाई आत्मसाथ गरि ठूला दलसँग स्वार्थ अनुकूल चल्ने परिपाटीलाई अन्त्य गर्न सके जनतासँग बढेको दूरी कम गराउन समय नलाग्ला । अन्यतत ः ठूला दलको ललिपपमा बहकिएर रास्पवाले फेरि पनि आफूलाई कमजोर बनाउने चेष्टा गरेमा ८४ सम्म रास्वपाको साख झनै कमजोर हुने पक्का छ ।।